फिल्म । आगामी भाद्र १९ गतेलाई प्रदर्शन घोषणा गरिएको फिल्म ‘ककाकिकी’ को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित गरिएको छ। यो फिल्म अब करिब तीन महिनापछि मात्र दर्शकमाझ आउने भएको छ।
बुधबार बिहान चीनको तिब्बततर्फ हिमताल फुटेपछि रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण जनधन तथा भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ । देश शोकमा डुबेको यस्तो संवेदनशील अवस्थामा हास्य विधाको फिल्म प्रदर्शन गर्नु उचित नहुने भन्दै निर्माण पक्षले प्रदर्शन मिति परिवर्तन गरीएको जनाएको छ ।
माया इन्टरटेनमेन्ट स्टुडियोले शनिबार आधिकारिक विज्ञप्ति जारी गर्दै प्रदर्शन मिति सार्नुपरेको जनाएको छ । निर्माण टिमका अनुसार पीडामा रहेका दर्शकलाई यस्तो समयमा हँसाउन खोज्नु मानवीय संवेदनाविपरीत हुने भएकाले व्यावसायिक लाभभन्दा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै प्रदर्शन मिति सारिएको हो ।
बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले संयुक्त रूपमा निर्देशन गरेको फिल्ममा गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, महेश त्रिपाठी, दीया मास्के, शिशिर वाङ्देल, प्रकाश घिमिरे, माओत्से गुरुङ, रेअर राई, खड्गबहादुर पुन मगर, सुवर्ण थापा, सुभाष गजुरेल, मनोज गजुरेल, एलिसा भोगलगायतको अभिनय छ। सुदीप बरालको डीओपी रहेको फिल्मको लेखन निर्देशक बिक्कीसँगै सरोज भण्डारी र विकास अर्यालले गरेका हुन् ।











