फिल्म । आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘झिँगे दाउ २’ले प्रचारप्रसारलाई तीव्रता दिएको छ । प्रदर्शनको दुई साता बाँकी रहँदा निर्माण पक्षले आम दर्शकमाझ प्रत्यक्ष पुग्ने उद्देश्यले फरक शैलीमा प्रचार अभियान अघि बढाएको हो ।
फिल्मको प्रचारका लागि नेपाल यातायातका ८० वटा बसमा ‘झिँगे दाउ २’ अंकित सिट कभर राखिएको छ । नेपाल यातायातमा यात्रा गर्ने ठूलो संख्याका यात्रुले फिल्मबारे प्रत्यक्ष जानकारी पाउने निर्माण पक्षको अपेक्षा छ । यो प्रचार शैलीलाई आम दर्शकले रुचाइरहेको निर्माण पक्षको भनाइ छ ।
नेपाल यातायातका बसमा राखिएका सिट कभरमा ‘झिँगे दाउ २’का दुईवटा क्यूआर कोडसमेत राखिएका छन् । एउटा क्यूआर स्क्यान गरेर फिल्मको टिजर हेर्न सकिनेछ भने अर्को क्यूआरमार्फत क्यूएफएक्स चेनका हलमा फिल्मको टिकट काट्न सकिने व्यवस्था गरिएको छ ।
निर्माण पक्षले फिल्मको तीज गीतसमेत सार्वजनिक गर्ने तयारी गरेको छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको ‘झिँगे दाउ २’ असोज २ गतेदेखि प्रदर्शनमा आउँदैछ । कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानी छ । रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माता हुन् ।
विष्णु घिमिरे ‘कल्पित’को डीओपी रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत र रोशन श्रेष्ठको एक्सन निर्देशन छ । फिल्मका प्रोडक्सन हेड ईश्वर घिमिरे हुन् ।
फिल्ममा केकी अधिकारी र आँचल शर्मासँगै महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाललगायतका कलाकारको अभिनय छ । परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्दु फुयाँल र शिशिर चालिसेको लेखन छ । फिल्मको टिजरले यसअघि नै दर्शकको ध्यान तानिसकेको छ ।










