‘गोर्खा वारियर’ प्रदर्शनका लागि विदेशमा उच्च माग

फिल्म । बेलायतस्थित लन्डनको लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएर इतिहास रच्न सफल नेपाली चलचित्र ‘गोर्खा वारियर’ माग विभिन्न देशमा बढेको छ । प्राय हलिउडका फिल्म मात्र प्रिमियर हुने सिनेवर्ल्डमा भएको प्रिमियरमा प्राप्त प्रतिक्रिया र फिल्म हेर्न आइपुगेका ब्रिटिस गोर्खाकै उच्च पदाधिकारीले ‘नेपाली मेगा मुभी’ को उपाधि दिदै प्रसंशा गरेपछि यसलाई अन्य देशका नेपालीले समेत हेर्ने ईच्छा राखेका छन् । वास्तविक युद्धलाई प्रस्तुत गरिएकोले पनि यसलाई विशेष रुचाईएको छ ।

निर्देशक तथा निर्माता मिलन चाम्सले केही महिनामै वर्ल्ड रिलिज गर्ने तयारी भईरहेता पनि केही देशमा प्रदर्शन गर्न अनुरोध आएपछि त्यसको तयारी गरिरहेको जानकारी दिए । उनले भने,’हाम्रो उदेश्य नै गोर्खालीको वीरतालाई विश्वभर देखाउनु हो । नेपाली फिल्मको नयाँ बजार बन्न सक्ने केही स्थानबाट अनुरोध आएको हुँदा त्यहाँ वर्ल्ड रिलिज अगाडी नै प्रदर्शन हुनेछ । यद्यपि हामी मिति भने केही समयमा घोषणा गर्नेछौं ।’

उहाँका अनुसार फ्ल्कल्यान्ड आइल्याण्ड, साइप्रस, बेलिज र नर्दन आइल्याण्डमा फिल्म छिटै देखाईने छ । नेपालमा ऐतिहासिक घटनाक्रम र उपन्यासमा आधारित फिल्महरु बनेता पनि गोर्खालीको कथामा निर्देशक चाम्सले पहिलोपटक फिल्म निर्माण तथा निर्देशन गरेका हुन् । उनले यो फिल्म निर्माणको लागि एक दशक भन्दा बढी समय खर्चेका थिए ।

युद्ध विधामा बनेको ‘गोर्खा वारियर’मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा देखाईएको छ । नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले गरेका छन् ।
लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्मको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा र सह-निर्मातामा रुपमा सुरेश राई छन् ।

कमेन्ट गर्नुहोस्