फिल्म । शुक्रबारबाट यो साता नेपालीमा तीन नयाँ फिल्म रिलिज भएको छ । नेपाली ‘लाइफ ईन् एलए’ सँगै दुइ विदेशी फिल्महरु भुलभुलैया २ र धाकड रिलिज भएको छ । स्थानीय निर्वाचन सम्पन्न भएसँगै सर्वसाधारण आ-आफ्नो काममा फर्किएपछि फिल्ममा दर्शक आउन सक्ने सम्भावनाकै कारण दुइ विदेशी फिल्म पनि भित्रिएको छ । यद्दपी पछिल्लो समय बलिउडका फिल्मले नेपाली दर्शकको मन भने जित्न सकेको छैन । नेपाली बजारमा पछिल्लो समय साउथ इन्डियन फिल्मको दबदबा बढेको छ ।
अमेरिकामा उच्च शिक्षा अध्ययनका लागि पुगेको व्यक्तिहरूको जीवनीमा आधारित फिल्ममा लस एञ्जल्सको लाइफ मार्फत चित्रण गरिएको छ। फिल्ममा ब्यास, अकेशा र शिल्पाको प्रेममा आउने उतार-चढाव र विदेशमा बस्ने नेपालीको लाइफ स्टाइल समावेश गरिएको छ । त्रिकोणात्मक प्रेमकथा ‘लाइफ इन एलए’ मा ब्यास बिस्सु, आकेशा बिस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय छ । सूर्य एन श्रेष्ठको निर्देशनमा निर्माण भएको फिल्ममा एलिस कार्की र प्रतीक पौडेलको संगीत र प्रताप दास र कविता श्रेष्ठको स्वर छ ।
ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । दीपक वली एसोसियट निर्देशक रहेको फिल्ममा भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन र, कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ । अमेरिकाको विभिन्न राज्यमा च्यारेटी शो गरिएको फिल्म नेपालमा भने आउँदो जेठ ६ मा प्रदर्शन हुने छ ।












