फिल्म । हल सञ्चालक तथा वितरकहरूको छाता संस्था नेपाल चलचित्र संघ र नेपाल चलचित्र निर्माता संघले पौष महिनामा भेला बोलाएर निर्णय गर्नेभएको छ । विहिबार चलचित्र संघको बसेको वैठकले चलचित्र विकास बोर्डले सहयोग गर्ने नियत नै राखेर पछिल्लो समय दुख दिईरहेको ठहर गर्दै पौष ६ गते देशभरका हल सञ्चालकलाई काठमाडौंमा बोलाएको छ । ‘हाम्रो आगामी कार्यक्रमहरू सामुहिक भेलाले दिने आदेशले नै निर्धारण गर्नेछ’, चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले भने,’एक साताअघि नै फिल्म सेन्सर गर्नुपर्ने, विश्वकप फुटबल देखाउने विषयमा देखिएको विवाद र रात्रि शोजस्ता विषयमा हाम्रो आपत्ति छ ।’
यस्तै, चलचित्र निर्माता संघको शुक्रबार बसेको वैठकले पनि निर्माताहरूको भेला पौष महिना भित्र नै गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष नवल खड्काले केही समय यता देखिएको विषयमा चलचित्र संघ, विकास बोर्ड हुँदै मातहतको मन्त्रालयसम्म आफूहरूको आवाज पुर्याउने बताए । “केही समय देखि शो बाडफाडमा देखिएको समस्या, केडीएमको शुल्कको विषय, निर्माताले हलबाट पाउने रकम छिटो छरितो हुनुपर्ने, प्रचारप्रसारमा चलचित्र घर उत्तिकै सहयोगी हुनुपर्ने विषयमा ध्यानाकर्षण गराउदै छलफल गर्ने निर्णय गरेका छौँ । छलफल सकारात्मकनभए संघर्षको विकल्प खुला छ,” अध्यक्ष खड्काले भने ।










