फिल्म । प्रदर्शनको छैटौँ दिन मङ्गलवार फिल्म ‘पुजार सार्की’को अन्तिम शो मध्यरात १ बजे सकियो । काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमा हलमा हाउसफुल दर्शकका साथ करिब साढे १० बजे शो सुरु भएको थियो । उक्त शो सकिने समयमा अभिनेता पल शाह, निर्देशक दिनेश राउत, निर्माता सुबास भुसाल तथा नेपाल वितरक रोहित कट्टेल दर्शक भेट्न हल पुगे । मध्यरातमा पनि आफ्नो प्रिय कलाकार आफ्नो सामुन्ने देखेपछि दर्शकको खुसीको सीमा नै रहेन ।
‘नेपाली फिल्म यसरी मध्यरातसम्म चल्नु सबैका लागि सुखद विषय हो । दर्शक भरिभराउ पाउँदा मैले व्यक्त गर्ने शब्द नै छैन । रातीको शो देख्दा र दर्शकको उत्साह हेर्दा नेपाली फिल्मले निकै फड्को मारेको महसुस भएको छ’, पलले भने ।
पलले आइतबार जापानको टोकियोमा भएको ऐतिहासिक शो सम्पन्न गरेर सोमवार साँझ काठमाडौं झरेका थिए । उनले जापान जसै गरी नेपालमा पनि नयाँ रेकर्ड राती सवा दश बजे भएको शो हुनसक्ने सम्भावना व्यक्त गरे । मङ्गलवार दिनभर पलले हल भिजिट गरी दर्शक तथा मिडियासँग साक्षात्कार गरेका थिए ।
मध्यरातमा हल पुगेका निर्देशक राउतले आफूले निर्देशन गरेका अघिल्ला फिल्म मध्ये ‘पुजार सार्की’ बढी सफल भइसकेको बताए । मध्यरातमा समेत हल भिजिट गरेको आफ्नो पहिलो अनुभव रहेको बताउँदै राउतले आफ्नो सपना पुरा भइरहँदा उत्साहित रहेको बताए । यसअगाडि नेपाली फिल्म ‘महाजात्रा’ को पनि राति साढे एक बजे सकिने गरी एफक्युबले शो राखेको थियो ।
प्रदीप खड्का, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शङ्कर आचार्य लगायतको अभिनय रहेको फिल्ममा अन्तरजातीय प्रेम र त्यसका लागि गरिने सङ्घर्ष देखाईएको छ ।
दिनेश राउतको निर्देशनमा तयार भएको फिल्मका लेखक विकास सुवेदी र निर्माता सुवास भुसाल हुन् । जातीय विभेदले समाजका हरेक तह र तप्काका मानिसहरूलाई पारेको व्यक्तिगत, मानसिक र सामाजिक असरलाई प्रस्तुत गरिएको फिल्ममा तारा शर्मा, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय रहेको छ।
किङ्गडम नेटवर्कको ब्यानरमा बनेको फिल्म नेपालमा आरआर फिल्मस र अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गरिरहेको छ । डिजिटल वितरण ओएसआर डिजिटलले गरेको छ ।
फिल्ममा हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द्र बराल र मुना थटालले स्वर दिएकाछन् । राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।