दोस्रो सातामा ‘गोर्खा वारियर’ : बढ्दैछन् हलमा दर्शक

फिल्म । नेपाली फिल्म ‘गोर्खा वारियर’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको फिल्मको विषयवस्तु र मेकिङ्गको तारिफ भइरहेको छ । मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्मलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीदेखि बलिउड अभिनेता अनुपम खेर समेतले तारिफ गरेका छन् ।

गोर्खालीको वीरताको गाथा समेटिएको फिल्मको ‘वर्ड अफ माउथ’ बलियो भएकै कारण दर्शकको उपस्थिति हलमा निरन्तर बढिरहेको छ । दोस्रो सातामा प्रवेश गर्दै गर्दा नेपालभर मल्टिप्लेक्स र सिङ्गल स्क्रिन गरेर साठ्ठी बढी शो पाएको यसका एसोसियट वितरक रीच इन्टरटेनमेन्टका करण श्रेष्ठले जानकारी दिए ।

‘दोस्रो सातामा प्रवेश गर्दा हामीले पाएको शो सङ्ख्या उल्लेख्य छ । दर्शकले फिल्म हेरेर सिफारिस गरिरहेका कारण हाम्रो शुक्रबार र शनिवारका अधिकाँस शोमा दर्शकको चाँप बढेको छ । अर्थात् ती शोहरू उपत्यकामा हाउसफुल हुँदैछ’, वितरक श्रेष्ठले भने । उनका अनुसार फिल्मले यही शैलीमा व्यापार गरे आगामी दिनमा शो सङ्ख्या अझैँ बढ्ने छ ।

फिल्ममा मुख्य भूमिका निर्वाह गरेका अभिनेता रितेश चाम्स आफैँ पूर्वगोर्खा सैनिक हुन् । वास्तविक रुपमा नै युद्ध लडेर ‘वीर गोर्खाली’ को ट्याग पाएका रितेशको अभिनयको तारिफ भइरहेको छ । उनलाई अफगानिस्तान युद्ध लड्दा खुट्टा (तिघ्रा) मा गोली लागेको थियो । फिल्ममा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायत कलाकारले अभिनय गरेका छन् ।

पहिलोपटक बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएर विश्वलाई नेपाली फिल्मको स्तरीयता र महत्व दर्शाउन सफल ‘गोर्खा वारियर’को नेपालमा फागुन ११ देखि प्रदर्शन भईरहेको छ । निर्देशक मिलन चाम्सले फिल्मलाई वास्तविक युद्धको शैलीमा तयार गरेका छन् । त्यहाँ देखाइको युद्ध र शैली वास्तविकतासँग नजिक रहेको उनले जानकारी दिए । ‘हामीले अब आफ्नो कथा भन्न सुरू गर्नुपर्छ । विश्वले वीरताको उदाहरण दिने गोर्खालीको कथालाई पर्दामा देखाउन पाउँदा उत्साहित छु’, निर्देशक चाम्सले भने ।

नेपाली, अङ्ग्रेजी, कोरियन र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको फिल्म लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । यसमा सुमन राई र सुस्मिता वाइवा निर्माता छन् । यस्तै, कार्याकारी निर्मातामा प्रशान्त थापा र सह-निर्मातामा रुपमा सुरेश राई छन् । फिल्मको एसोसिएट वितरकमा रीच इन्टरटेनमेन्ट रहेको छ ।

कमेन्ट गर्नुहोस्