फिल्म । फिल्म ‘उचाई’ को टिजर पोस्टर सार्वजनिक भएको छ । यो बलिउड फिल्म नेपालमा छायांकन भएकोले पनि यसको आकर्षण यहाँ पनि छ । कात्तिक २५ गते रिलिजको तयारीमा रहेको फिल्मको टिजर पोस्टर आइतबार रिलिज गरिएको हो । सार्वजनिक पोस्टरमा फिल्मका तीन मुख्य पात्रले हिमाल आरोहण गरिरहेको चित्रण गरिएको छ ।
नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने आशा लिइएको ‘उचाई’ मा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा र डेनी डेन्जोङ्पाको मुख्य भूमिका रहेको छ । राजश्री प्रोडक्सनको व्यानरमा निर्मित फिल्मलाई सुरज बडजात्याले निर्देशन गरेका हुन् । फिल्मको छायांकन नेपालका पर्यटकीय थलो हिमाली भेगमा भएको छ । मित्रताको कथा भन्ने यो फिल्मले तीन प्रमुख पात्रको नेपाल घुमघामको कथा प्रस्तुत गर्छ । नेपालको कथावस्तु समेत रहेकाले फिल्मले नेपाली बजारमा समेत राम्रो कमाइ गर्न सक्ने अपेक्षा राखिएको छ ।
नेपाली प्रेमिका भेट्न भारतबाट नेपालको यात्रा गर्ने चार साथीको कथामा बनेको फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, वोमन इरानी, डेनी डेङ्जोपा र सारिका हुसेनको मुख्य भूमिका रहेको छ । सारिकाले नेपाली युवतीको भूमिका निर्वाह गरेकी हुन् जसलाई भेट्न अमिताभ बच्चन, वोमन इरानी, अनुपम खेर र डेनीले नेपालको यात्रा गर्छन् । नेपालमा हुने सुटिङका लागि अनुपम खेर र वोमन इरानी आएका भए पनि अमिताभ बच्चन र डेनीले मुम्बईमा नै निर्माण गरिएको सेटमा अभिनय गरेका थिए । उनीहरूको काम डुप्लिकेट राखेर पूरा गरिएको थियो । फिल्ममा परिनीति चोपडा र नीना गुप्ताको पनि अभिनय रहेको छ ।
नेपालका लागि थ्री विलर्स फिल्मस्का अध्यक्ष लाइन प्रोड्युसर सुरज आचार्य र प्रोडक्सन कोर्डिनेटर अरुण रेग्मीले छायांकनको प्रवन्ध मिलाएका थिए ।