फिल्म । भारतीय अभिनेत्री श्रद्धा कपुर पछिल्लो समय आफ्नो व्यावसायिक जीवनभन्दा बढी व्यक्तिगत सम्बन्ध र विवाहको चर्चाका कारण सामाजिक सञ्जालमा छाएकी छन् । कथित प्रेमी राहुल मोदीसँग उनले चाँडै नै विवाह गर्न लागेको दाबी गर्दै विभिन्न खबरहरू भाइरल भइरहेका छन् । विशेष गरी राजस्थानको उदयपुरमा श्रद्धा र राहुलको भव्य विवाह हुन लागेको दाबी सहितका पोस्ट सार्वजनिक भएपछि यो चर्चा थप चुलिएको हो । यहीबीच श्रद्धाका दाजु तथा अभिनेता सिद्धान्त कपुरले विवाहसम्बन्धी हल्लामा रोचक प्रतिक्रिया दिएका छन् ।
इन्स्टाग्राममा भाइरल भइरहेको एक विवाहसम्बन्धी पोस्टमा कमेन्ट गर्दै सिद्धान्तले लेखेका छन्, ‘यो त मेरो लागि पनि न्यूज (समाचार) हो ।’ अचम्मित भाव र हाँसोको इमोजीसहितको उनको प्रतिक्रियाले श्रद्धाको विवाहको हल्लामा तत्कालका लागि विराम लगाउन खोजेको देखिए पनि फ्यानहरू भने अझै पूर्ण रूपमा विश्वस्त हुन सकेका छैनन् ।
यसअघि गत हप्ता श्रद्धाले पनि एक फ्यानको प्रश्नमा ठट्टामार्फत विवाहको प्रसङ्ग उठाएकी थिइन् । ‘श्रद्धा जी, विवाह कहिले गर्ने?’ भन्ने प्रश्नमा उनले ‘म गर्छु’ भनेर मजाक गरेकी थिइन् । उनको उक्त जवाफलाई धेरैले विवाहको संकेतका रूपमा व्याख्या गरेका थिए । श्रद्धा र राहुल मोदीको प्रेम सम्बन्धको चर्चा सन् २०२४ को सुरुवातमा मुम्बईमा उनीहरूलाई एक डिनर डेटमा सँगै देखिएपछि सुरु भएको हो ।
अभिनेता शक्ति कपुरका सन्तान श्रद्धा र सिद्धान्त दुवै बलिउडमा सक्रिय छन् । श्रद्धाले आफ्नो प्रेम सम्बन्धलाई अहिलेसम्म सार्वजनिक रूपमा स्वीकार नगरेकी भए पनि उनी राहुलसँग विभिन्न स्थानमा पटकपटक सँगै देखिँदै आएकी छन् । हालसम्म श्रद्धा वा उनको परिवारबाट विवाहबारे कुनै आधिकारिक पुष्टि नभए पनि सामाजिक सञ्जालमा उनीहरूको विवाहलाई लिएर अड्कलबाजी गर्ने क्रम भने रोकिएको छैन ।










