फिल्म । सार्वजनिक पहिलो गीत ‘माया संसार’ र ट्रेलरका कारण चर्चामा रहेको फिल्म ‘कागजपत्र’ युनिटले दोस्रो गीत सार्वजनिक गरेको छ । सार्वजनिक स्याड भर्सनको‘तिमी जाने बाटो कता’ बोलको गीतमा फिल्मका चार प्रमुख कलाकारहरु नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा र सरिता गिरीलाई फिचर्ड गरिएको छ ।
गीतमा यी सम्पूर्ण पात्रको पिडालाई चित्रण गरिएको छ । गायिका प्रविशा अधिकारी र अनुप शर्माको आवाज रहेको गीतमा संगीत सापकोटाको संगीत र शब्द रचना छ । सार्वजनिक गीतलाई फिल्मको कथाअनुसार नै चित्रण गरिएको निर्देशक अपिल विष्टले बताए । ‘यो गीत फिल्मले हेर्नेलाई झनै मन पर्छ’ अपिल भन्छन् ‘गीतले फिल्मको कथा बोल्छ ।’ अपिल मात्र होइन , भोलालाई पनि गीत उतिकै मन पर्छ ।
‘यो गीत निकै राम्रो बनेको छ किनकी यसमा मर्म छ’ उनले भने ‘गीत सुनेदेखी नै प्रिय छ ।’ इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतीमा तयार भएको फिल्म वर्ल्डवाइड फिल्मस् र अस सिनेमाको संयूक्त व्यानरमा निर्माण भएको हो । फिल्मको कथा निर्देशक विष्टले नै तयार पारेका हुन् । यसअघि उनले ‘झुम्की’ फिल्म निर्देशन गरेका थिए ।
यसको निर्मातामा खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी छन् भने किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्मातामा छन् । फिल्ममा बसन्त सापकोटा , हर्कुलस बस्नेत र संगीत सापकोटाको संगीत छ भने निमेष श्रेष्ठको सम्पादन रहेको छ । फिल्मलाई अस्ट्रेलियन सिनेमाटोग्राफर क्यस्मिर डिक्सनले खिचेका हुन् । लोकेन्द्र लेखक, जीवन भट्टराई, लक्ष्मी वर्देवा, अर्जेस रेग्मीलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ ।












