‘मास्टर्नी’ले पहिलो साता कति कमायो ?

फिल्म । आयंका फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘मास्टर्नी’को पहिलो साता सुखद रहेन । सार्वजनिक पहिलो गीतका कारण सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणीबीच प्रदर्शनमा आएको ‘मास्टर्नी’लाई दर्शकले हेर्न रुचि नदेखाएको पाइएको छ । विवादको वाछिटा फिल्मको व्यापारमा समेत देखिएको छ ।

स्रोतका अनुसार फिल्मले पहिलो साता ३४ लाख ९० हजार ६ सय ५० रुपैयाँ मात्र कमाइ गरेको छ । पहिलो सातामा फिल्मका १० हजार ८ सय ४६ वटा टिकट बिक्री भएको स्रोतले जनाएको छ ।

अभिनेत्रीका रूपमा लामो समय काम गरेपछि फिल्म निर्माणमा होमिएकी प्रियंका कार्कीका लागि पहिलो प्रयास घरेलु बक्स अफिसमा असफल देखिएको छ ।

अभिनेत्री कार्कीको शीर्ष भूमिका रहेको फिल्ममा आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरी, ऋचा शर्मा, अनुपविक्रम शाही, सिम्रन खड्का, रक्षा थापा, दिनेश काफ्लेलगायत कलाकारको अभिनय रहेको छ। शुभेन्दु घोषले निर्देशन गरेको फिल्मको पटकथा शान बस्न्यातले लेखेका हुन् । संवाद लेखनमा अभिनेत्री कार्की र बस्न्यातको सहकार्य रहेको छ ।

कमेन्ट गर्नुहोस्