फिल्म । अभिनेत्री स्वस्तिमा खड्काले आफूलाई अभिनेत्रीको रुपमा अभिनेता, गायक तथा निर्देशक प्रकाश सपुतलाई ढुक्कले जिम्मा लगाउन सक्ने बताएकी छिन् । प्रकाशको निर्देशनमा तयार हुने फिल्म ‘वसन्त’ को घोषणा समारोहमा स्वस्तिमाले आफूले पहिले काम गरेकाले ढुक्क रहेको बताएकी हुन् ।
‘मैले प्रकाशजीसँग पहिले पनि काम गरेकी छु । उहाँको कलात्मक चेतनाले अन्य कलाकार झैँ मलाई पनि प्रभावित पार्छ । म कलाकार स्वस्तिमालाई ढुक्कले निर्देशक प्रकाशलाई जिम्मा लगाउन सक्छु’, उनले भनिन् ।
उनले फिल्ममा ब्राह्मण परिवारको युवतीको भूमिका निर्वाह गर्दैछिन् । अन्तरजातीय प्रेम देखाइने फिल्ममा स्वस्तिमाले शान्ती र प्रकाशले वसन्तको भूमिका निर्वाह गर्दैछन् । फिल्मको छायांकन साउन वा भदौमा गर्ने तयारी निर्माण पक्षको छ । फिल्म संवत यो वर्षको अन्तिममा प्रदर्शन हुने छ । फिल्ममा संगीत र पटकथा पनि सपुतकै छ ।
यो फिल्मले गायक सपुतकै गृह जिल्ला बागलुङको सेरोफेरोको कथा भन्नेछ । फिल्ममा प्रकाशले शीर्ष भूमिकामा अभिनय गर्दैछन् भने स्वस्तिमाले शान्ति पात्रको भूमिका निर्वाह गरेकी छिन् । यो फिल्ममा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन कार्यकारी निर्माताको रुपमा छन् । फिल्ममा मुख्य सहायक निर्देशक प्रकाशकै भाई सुनिल विक रहेका छन् ।












