फिल्म । आगामी असोज ३ गते संविधान दिवसको अवसरमा रिलिज हुने तयारीमा रहेको फिल्म ‘सोल्टिनी’को पहिलो गीत ‘सत्य जुगैको’ सार्वजनिक गरिएको छ । पूर्वेली मारुनी भाकामा आधारित यो गीतमा प्रशान्त सिवाकोटी र अस्मिता अधिकारीको स्वर रहेको छ । गायिका अधिकारीको यो पहिलो मारुनी गीत हो । गीतको सङ्गीत र शब्द प्रशान्त सिवाकोटीले सिर्जना गरेका छन् ।
भोजपुरमा छायाङ्कन गरिएको गीतको भिडियोमा अभिनेता प्रकाश सपुत, अभिनेत्री परीक्षा लिम्बूसँगै कलाकारहरू सुन्दर धिताल र सब्बु गुरुङले नृत्य गरेका छन् । कोरियोग्राफी मौसम हिमालीले गरेका छन् । करिब ७/८ वर्षपछि नेपाली फिल्ममा मारुनी गीत समावेश भएको छ, जसले दर्शकमाझ विशेष चासो जगाउने अपेक्षा निर्देशक अर्जुन सुवेदीले व्यक्त गरेका छन् ।
निर्देशक सुवेदीका अनुसार फिल्मले दर्शकलाई फरक स्वादको कथासँग जोड्नेछ । समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावविरुद्ध आवाज उठाउने यो फिल्मको मुख्य आकर्षण दुई प्रमुख पात्रबीचको प्रेमकथा हो ।
फिल्ममा विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायतका चर्चित कलाकारहरूको अभिनय रहेको छ। गीतहरूमा प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको सङ्गीत छ भने छायाङ्कन सुशन प्रजापतिले गरेका छन् । फिल्मको कथा अर्जुन सुवेदी र कुमार भट्टराईले लेखेका छन् ।
प्लानेट थ्री फिल्म्स र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको यो फिल्मका निर्माता रेजिना बिस्ट र संसार चौलागाईँ हुन् । नेपालमा वितरण आरआर फिल्मस् प्रा.लि.ले गर्नेछ ।