अप्रिलमा पुग्यो अस्कर

फिल्म । विश्वप्रसिद्ध अवार्ड अस्कार अवार्डको नियममा केहि परिवर्तन आएको छ । विश्वमै महामारीको रुप लिईरहेको कोरोना भाइरस (कोभिड १९) द्वारा सिर्जित अवस्थाले गर्दा अस्कारको नियममा परिवर्तन गरिएको हो । अवार्ड दुइ महिनापछी सरेर अप्रिलमा हुने भएको छ । ९३ औं संस्करण आउँदो साल अप्रिल २५ का लागि तय भएको छ । नेपालको अस्कर कमिटीलाई पठाएको सूचना अनुसार यो साल फिल्म पठाउने समय सीमा दुई महिना पर धकेलिएको छ ।

अघिल्ला वर्षमा अक्टोबर अन्तिममा सम्ममा फिल्म पठाइसक्नु पर्ने थियो भने यो साल डिसेम्बर ३१ सम्ममा अस्करका लागि फिल्म पठाइसक्नु पर्ने प्रावधान राखिएको छ । महामारीका कारण रिलिज गर्ने समय सीमा तोकेर पनि रिलिज हुन नसकेको फिल्मका लागि पनि यो साल अस्कर अवार्ड लचिलो बनेको छ । अघिल्ला वर्षहरुमा कुनै पनि फिल्म हलमा रिलिज भएर हलमा हप्ता दिनसम्म चलेकै हुनुपर्ने नियम थियो । तर, यो साल यसरी हलमा रिलिज हुन नसकेका फिल्मले पनि अस्करको प्रतिस्पर्धामा सामेल हुन पाउनेछन् ।

यसका लागि सम्बन्धित फिल्मले सरकारबाट मान्यता प्राप्त हलबाट फिल्म रिलिज रोकिएको पत्र अस्कर कमिटीलाई बुझाउनु पर्नेछ । त्योसँगै यसरी रोकिएका फिल्म हलमा नलागी स्ट्रिमिङ साइटमा आएका छन् भने पनि तिनले सहभागिता जनाउन सक्नेछन् । नेपालमा बिमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेसनल फिचर फिल्म कार्यकारी समिति रहेको छ । जसमा राजेन्द्र शलभ, लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय, लोकेन्द्र पराजुली, राजुबिक्रम थापा, चिरञ्जीवि गुरागाँई र सामीप्यराज तिमल्सेना सदस्य रहेका छन् ।

कमेन्ट गर्नुहोस्