फिल्म । पछिल्लो समय नेपाल र भारतमा लिपुलेख , लिम्पियाधुरा र कालापानीको विषयमा चर्चा भइरहेको छ । भारतले नेपाली भूभागमा सडक बनाएसँगै नेपालले नयाँ नक्सा सार्वजनिक गरिसकेको छ । नक्सा सार्वजनिक गर्दै नेपालले प्रमाणहरु समेत पेश गरेको छ । नेपाल र भारतबीच उत्पन्न सीमा विवादका सन्दर्भमा अभिनेत्री मनिषा कोइरालाले ट्विट गर्दा भारतीय मिडियाले उनको धेरै आलोचना गर्यो । त्यसपछि नेपालीले सामजिक सञ्जालमा उनको समर्थन गरे । मनिषाले विवादल़िया त्रिपक्षीय वार्ताको माध्यामबाट सुल्झाउनु पर्ने तर्क गर्दै नेपाली नक्सा शेयर गरेकी थिइन् ।
पछिल्लो समय यस विषयले नेपालमा राष्ट्रियता बढ्दो छ । यसै विषयसँग जोडिएर अभिनेत्री वर्षा राउतले दिएको एक अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनको टिप्पणी स्तरहीन भएको भन्दै समाजिक सञ्जाल प्रयोगकर्ताले उक्त क्लिपलाई शेयर गरिरहेका छन् । अर्थात् वर्षा विवादमा मुछिएकी छन् । सामाजिक सञ्जालमा चर्को आलोचना भएपछी वर्षाले सामाजिक सञ्जाल मार्फत नै माफी मागेकी छिन् ।
फेसबुकमा स्टाटस पोस्ट गर्दै उनले आफ्नो मन भित्र राष्ट्रियता कतिपनि कम नभएको बताएकी छिन् । उनले लाइभ बोल्ने क्रमममा गल्ती भएकी स्वीकारेकी छिन् ।हो, प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुकेँ होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलिकति पनि चुकेकी छैन, अलिकति पनि माथि-तल परेकी छैन’ उनले लेखेकी छिन् । उनले आफ्नो पहिचाननै नेपाली कलाकार भएको हुँदा उनले आफ्नो परिचयलाई नै अङ्गिकार गर्न सक्ने यति ठूलो र महान् सम्मानलाई उच्च ओहोदामा राखेको जनाउदै आफु नेपाली भएको र गर्व लागेको उल्लेख गरेकी छिन् ।
उनको पोस्ट यस्तो छ :-
सम्पूर्ण आदरणीय दर्शक तथा शुभचिन्तक साथीहरूमा नमन ।
कलाकार हुँ, त्यसमाथि अलि भावुक स्वभावकी छु त्यसैले सकेसम्म कुनै पनि प्रकारको विवादबाट टाढा रहन खोज्छु । तर हिजो एउटा अन्तरवार्तालाई लिएर जुन हो-हल्ला गरियो, त्यसले मलाई भावनात्मक ठेस पुगेको छ । हो, प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुकेँ होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलिकति पनि चुकेकी छैन, अलिकति पनि माथि-तल परेकी छैन ।
संसारको कुन नागरिकलाई आफ्नो मातृभूतिप्रति माया हुँदैन होला र? त्यसमाथि “नेपाली कलाकार” भनेर हाम्रो त पहिचान नै देश र राष्ट्रियतासँग जोडिएको हुन्छ । आफ्नो परिचयलाई नै अङ्गिकार गर्न सक्ने यति ठूलो र महान् सम्मानलाई म उच्च ओहोदामा राख्छु । म नेपाली हुँ, मलाई गर्व छ ।
हाल लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्मको भूमिलाई समेटेर जुन नक्सा जारी भयो, त्यो हाम्रो भूमि हो र नेपाल सरकारले जुन कर्तव्यनिष्टता देखाएको छ, म त्यसको समर्थनमा अग्रपङ्क्तिमा उभिन तयार छु । तर यो मजस्तो एउटा व्यक्ति, एउटा नागरिकमात्रले समर्थन गरेर हुँदैन । हामी सबै नेपाली सँगै उभिएर समर्थन गर्नुपर्छ । समर्थन गर्नुपर्छ वार्ता गर्ने उचित वातावरणको, समर्थन गर्नुपर्छ तथ्य र सत्यको, समर्थन गर्नुपर्छ हामी दुई छिमेकीको प्रगढ सम्बन्धको, समर्थन गर्नुपर्छ हाम्रो रोटी-बेटी सम्बन्धको, र सबैभन्दा धेरै समर्थन गर्नुपर्छ मानवता र मानवधर्मको । यस्तो संवेदनशील समयमा भड्काउ तत्त्वहरूले आक्रमण गर्न सक्छन्, दुई देशको अन्तरदेशीय सम्बन्ध बिगार्न सक्छन् – जुन कुरा भारतीय मिडियाले उचालेका केही शब्दहरूबाट देखिन थालेको छ । यस्तै असभ्य र असत्य पत्रकारिता हाम्रो मिडियाले पनि नगरोस्, मैले यही भन्न खोजेकी हुँ ।
नेपाल मेरी जननी जन्मभूमि हुन् । नेपाली सबै हामी दाजु-भाइ दिदी-बहिनी हौं । नेपाली चेली मनिषा कोइराला दिदीले भनेका कुरालाई जसरी गर्वका साथ मैले सेयर गरें त्यसरी नै नेपाली भावनलाई म खुसीका साथ प्रस्तुत गर्न सधैँ तयार छु । मैले प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोलेका केही शब्दमा हेक्का नभएकाले केही गल्ती बोलेँ होला जसको सन्दर्भ टेढिएर गलत अर्थ लागे होलान् । यस्तो परिस्थिति खडा भएकामा म क्षमाप्रार्थी छु र अब-आइन्दा यसरी बोल्दा पक्कै हेक्का राख्छु ।
जय नेपाल, जय नेपाली !
जननी जन्मभूमिश्च स्वर्गादपी गरियसि










