फिल्म । नेपाली फिल्मलाई विश्व मञ्चमा पुर्याउन सङ्घर्षरत निर्देशक मध्ये एक हुन् मीनबहादुर भाम । पहिलो निर्देशकीय छोटो फिल्म ‘बाँसुल्ली’ लाई भेनिस चलचित्र महोत्सवसम्म पुर्याउन सफल भएका भामको दोस्रो फिल्म ‘कालोपोथी’ थुप्रै महोत्सवमा सहभागी भयो । त्यसपछि अन्तर्राष्ट्रिय महोत्सवमा बलियो निर्देशक बने भाम । उनले पछिल्लो समय आठ वर्ष लगाएर दोस्रो फिल्म ‘साम्बाला’ तयार गरे ।
यो बर्लिन चलचित्र महोत्सवको ६६ औँ संस्करणमा अन्तर्राष्ट्रिय फिल्मको प्रतिस्पर्धा अन्तर्गतको मुख विधामा छनोट भयो । पहिलोपटक कुनै नेपाली फिल्म उक्त विधामा छनोट भएको थियो । निर्देशक भामको फिल्ममा लगानीकर्ता पनि यस्तै महोत्सवबाट जोडिनछन् । कथा, पटकथा, छायाङ्कन गरिएका दृश्य र फिल्मलाई उनले विभिन्न शिर्षकमा अन्तर्राष्ट्रिय महोत्सवमा सहभागी गराउछन् ।
ती फिल्ममा विदेशी लगानीकर्ता आकर्षित हुने गर्छन् । फलतः नेपाली फिल्मको लागत भन्दा निकै मथिरहेर निर्देशक भामले फिल्म तयार गर्छन् । नेपालमा उनको फिल्मको बजार औसत भएपनि अन्तरर्राष्ट्रियस्तरमा बलियो छ । तर,उहाँको एक छोटो र दुई ठूला फिल्ममा समानता भनेको हिमाल छ । उनले फिल्ममा हिमालको सौन्दर्यसँगै अन्धकार पक्षलाई पनि समेटेका छन् ।
कर्णाली अञ्चलको मुगु जिल्लाको एक गाउँमा हुर्किएका निर्देशक भामले छ वर्षको उमेरमा पहिलोपटक फिल्म हेरेका थिए । ‘बुबाले पहिलोपटक गाउँमा फिल्म हल खोल्नुभयो । टेलिभिजन नदेखेको मान्छे सिधै फिल्म हेरे । नेपाली नबुझ्ने भएकाले दृश्यभाषामार्फत हेरेँ । त्यो समयमा प्राविधिक भाषा त याद थिएन तर फिल्म हेरेर नै मैले बुझेको थिएँ’, भामले भने ।
काठमाडौँमा सम्पन्न २१औँ काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) मा ‘माउन्टेन्स म्याटर : कल फ्रम द हिमालयज’ शीर्षकमा कुराकानी गर्दै उनले सोही समयमा फिल्म प्रति आकर्षण बढेको बताए। उनलाई कलाकार भन्दा पनि कसले यस्तो फिल्म बनाउँछ भन्ने कौतुहलता जाग्यो । त्यहि कारण पढाईमा राम्रो हुँदा हुँदै पनि फिल्म बनाउने सपना बोकेर काठमाडौँ आउनुभयो ।
‘फिल्म अध्यनका लागि १४ वर्षकै उमेरमा भागेर म काठमाडौँ आएँ । फिल्म नबनाएसम्म म यहीँ बस्छु भन्ने अठोट थियो । नेपाली भाषा वा अहिले मैले बोल्दै गरेको भाषा त्यतिखेर म बुझ्दा पनि बुझ्दिन थिएँ । बोल्न सक्ने कुरै भएन । भाषाको कारण सङ्घर्षको कथा, नाटक, रङ्गमञ्च हुँदै म दक्षिण कोरिया र जर्मनीमा फिल्मको तालिम लिने अवसर छात्रवृत्तिस्वरुप पाएको थिएँ’, निर्देशक भामले भने ।
तर, सहरमा हुँदा उनलाई आफ्नो गाउँ र सुन्दर हिमालको याद आयो । आफू सुन्दर हिमालको घेरामा रहेको महसुश गर्ने निर्देशक भामले हिमाल जान यति लालयित हुनेको कथालाई सुन्न थाले । त्यसपछि उनलाई फिल्म बनाउन गाउँमै कथा पाइने आभाष भयो ।
‘हिमालको संस्कृति, त्यहाँको परिवेश, रहनसहन कथा, त्यसको मार्मिकता, गहनता र त्यसको महत्व मैले जीवनमा पहिलोचोटि बुझ्न पाएँ । मलाई रारा एउटा सानो पोखरीजस्तो लाग्थ्यो । काठमाडौं बसेर फर्केर जतिबेला म फिल्मको तयारी गर्दै थिएँ, त्यही रारा मलाई बडो सुन्दर र प्यारो लाग्न थाल्यो’,निर्देशक भामले भने,‘मैले सङ्कल्प गरेँ कि मैले जीवनमा फिल्म बनाउँदा मेरै गाउँतिर फर्किनु पर्छ र त्यहीँको पात्र टिप्नुपर्छ । म फिल्म बनाउनलाई हिमालतिरको यात्रामा फर्किएँ । यो सन् २०१२ को कुरा थियो । म मेरो गाउँ फर्कें र केटी मान्छेले बाँसुली बजाउनु हुँदैन भन्ने हाम्रो गाउँको चलनमा आधारित कथामा बाँसुल्ली बनाएँ ।’
उनले कोरोना महामारीका भएको बन्दाबन्दीमा हिमाल यात्रा गरे । सगरमाथाको आधारशिविरदेखि मुस्ताङको हुम्लाको लेते-भ्यालीदेखि अप्पर-डोल्पासम्म नेपालको हिमाली जनजीवन तीन वर्षसम्म घुमेपछि उहाँले हिमालको अर्को पक्षलाई महसुश गर्न पाए । उनले भने,‘हिमालमै जन्मेहुर्केको मान्छे, फिल्म बनाएर काम गरेको मान्छे तर कोभिडको त्यो क्षणमा पहिलोचोटि मलाई हिमालको अध्याँरो पक्ष हिमालमै बसेर गुजारा चलाउने मान्छेको भित्री कथाले गहिरोसँग प्रभाव पा¥यो । हिमालका मान्छेको लागि हिमाल साँच्चिकै तपस्या हो, हिमाल धर्म हो, हिमाल साँच्चिकै घर हो ।’
‘साम्बाला’ बनाउँदा उनले हिमाल भनेको दृश्यभाषा, सभ्यता, संस्कृति, नभनिएका कथा मात्र नभई आध्यात्मिक शक्ति भएको पक्षलाई महसुश गरे । हिमालका पुरुषहरु त कोही व्यवसायको खोजीमा, कोही सुनौलो भविष्यको खोजीमा साराले हिमाल छोड्दै गर्दा त्यहाँ धानेको र विशुद्ध तत्व भनेको महिला रहेको आभाष निर्देशक भामलाई भयो ।
‘मेरो कथाको प्रतिनिधित्व गर्नलाई महिला चरित्र नै सशक्त हुनेरैछ भन्ने महसुश गरेँ । कथा तयार गर्न ४८ ‘ड्राफ्ट’ लेखेँ । नेपाल बाहिर, मेडिटेनस सेन्टर, घर, जङ्गल फरक–फरक भूगोलमा बसेर लेखेँ । किनकि म अघिल्ला कमजोरी दोहा¥ेयाउने पक्षमा थिइन् । त्यसैले आठ वर्ष लाग्यो लेखिसक्न । म निकै घोत्लिएँ’, निर्देशक भामले भने । उनले जुन हिमालले थिचेको अनुभव गरेर आफूलाई ‘सुनको पिँजडा भित्रको सुगा’ महसुश गरे, आज त्यहि हिमालको कथाले उनलाई अन्तर्राष्ट्रिय मञ्चमा पु¥यायो । उनको फिल्मले निर्देशक मार्टिन स्कोर्सेसीसँग प्रतिस्पर्धा ग¥यो ।
‘मलाई गर्वभन्दा बढी खुसी केमा लाग्यो भने त्यो ठाउँमा अपर-डोल्पाको कथा, त्यहीँको भाषा, संस्कृति, कथा, कलाकार र त्यहीँको बनाएको फिल्म लिएर म २ हजारभन्दा बढी दर्शकको माझमा बर्लिन चलचित्र महोत्सवमा निर्देशक स्कोर्सेसी र डोल्पाको गाउँको पात्र जसले बच्चाको रोल गर्नुभएको थियो, दुवै जनालाई हेर्दै बसिरहेको थिएँ । त्यो क्षणलाई म शब्दमा व्यक्त नै गर्न सक्दिन’, निर्देशक भामले भने । उनले महोत्सवमा फिल्मको प्रदर्शनी (प्रिमियर) सकिएपछि ‘ओपेनहाइमर’को मुख्य अभिनेता किलियन मर्फी र बलिउडका नवाजुद्दिन सिद्दिकीलाई फिल्म बारे प्रश्न गरे । उहाँहरूको प्रतिक्रियामा महत्वपूर्ण पक्ष थियो हिमाल । त्यहि हिमाल जसलाई बोझ मानेर फिल्म निर्माण गर्न निर्देशक भाम निस्किएका थिए ।
डोल्पाको एकजना कलाकार जसले कहिले सहरको यात्रा नगरी बर्लिन पुगेका थिए, उनलाई निर्देशक भामले सोधे,‘तपाईंलाई डोल्पादेखि बर्लिनसम्मको मान्छेहरुसँगको भेटघाट यो अनुभव सबैभन्दा जीवनमा के चिज रमाइलो लाग्यो ?’
‘कलाकारको जवाफ थियो गाडी, रेल, प्लेन चढेको एकदमै रमाइलो लाग्यो । त्यो सुनेर मैले बुझेँ हामीसँग जुन कुरा साँच्चिकै छैन त्यो कुरा एकदमै महत्व लाग्नेरहेछ । सायद, यो मानव स्वभाव पनि होला । कुनै दिन हिमालको सभ्यता, संस्कृति, भाषा, परिवेश, मान्छे, हिमाल आफैंमा दिक्कलाग्दो चिज भएको मान्छे, ती सारा झञ्झटबाट उन्मुक्ति खोजेर भागेर आएको मान्छे म तर अब अवकास जीवन हिमालमै विलीन हुन पाऊँ भन्ने लाग्दैछ । हिमालको मनोरम दृश्यमै म मेरा जीवनका सारा कथा व्यक्त गर्न पाऊँ । हिमालमै सारा चलचित्र बनाउन सकूँ’, निर्देशक भामले भने ।
उच्च हिमाली गाउँकी एक गर्भवती महिलालाई श्रीमानले छोडेपछि आफ्ना देवरलाई लिएर उनको खोजीमा हिँडेको कथा प्रस्तुत गरिएको फिल्मलाई निर्देशक भामले अविनाशविक्रम शाहसँग मिलेर लेखेका हुन् । तिब्बती र नेपाली भाषामा बनेको यो फिल्म यसै वर्ष प्रदर्शन गर्ने तयारी निर्देशक भामले गरिरहेका छन् ।