दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोग

सङ्गीत । दरबार रोधी क्लबले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा सांगीतिक मनोरञ्जनसँगै सामाजिक सेवाका कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ । आगामी जेठ २९, ३० र ३१ गते दरबारमार्गस्थित मायालु कम्प्लेक्समा रहेको रोधी घरमा आयोजना हुने तीनदिने सांगीतिक उत्सवमा चर्चित गायक तथा मोडल दुर्गेश थापादेखि लोकदोहोरी गायिका टीका सानुसम्मका दर्जनौँ लोकप्रिय कलाकार एउटै मञ्चमा प्रस्तुत हुने भएका छन् ।

वार्षिकोत्सवलाई केवल मनोरञ्जनमा सीमित नराखी क्लबले सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै दृष्टिविहीन तथा संघर्षरत कलाकारहरूलाई हरेक वर्ष आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ। क्लबका सञ्चालक सुनिल कुँवरले हालै इन्द्रेणी कार्यक्रममा पुगेर दृष्टिविहीन कलाकारहरूको संस्थालाई ५० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका छन्। कलाकार र कर्मचारीहरूको निरन्तर मेहनतका कारण क्लब १८औँ वर्षमा प्रवेश गर्न सफल भएको उल्लेख गर्दै कुँवरले आगामी वर्षहरूमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

तीन दिनसम्म सञ्चालन हुने सांगीतिक कार्यक्रममा पहिलो दिन जेठ २९ गते प्रेमराजा महत, राजु परियार, दुर्गेश थापा, कृष्ण कँडेल, श्याम राना, दीपिका बयम्बु र सञ्चिता बोलाखेको प्रस्तुति रहनेछ। दोस्रो दिन जेठ ३० गते रामजी खाँण, प्रीति आले र शान्ति रानी परियारले प्रस्तुति दिनेछन्।

यस्तै, अन्तिम दिन जेठ ३१ गते विश्व दोङ र टीका सानुले दर्शकलाई सांगीतिक मनोरञ्जन प्रदान गर्नेछन् । कार्यक्रम प्रत्येक दिन साँझ ७ बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्म सञ्चालन हुने जनाइएको छ । दर्शकहरूले सांगीतिक मनोरञ्जनका साथै विभिन्न छुट तथा सहुलियतको सुविधा पनि प्राप्त गर्ने सञ्चालक कुँवरले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्