फिल्म । टिकटक बनाउँदा पुरस्कार पाइने भएको छ । रमाइलोको लागि बनाइने टिकटककै लागि फिल्म ‘तिम्रो मेरो साथ्’ युनिटले विभिन्न शर्त राख्दै पुरस्कार दिने घोषणा गरेको छ । आउँदो पुष २९ गतेबाट प्रदर्शनमा आउने फिल्मले नगदराशि सहित टिकटक प्रतियोगिता घोषणा गरेको छ । फिल्मको सार्वजनिक पहिलो गीत ‘रुमालै बाटेर टाई बनाम’मा टिकटक भिडियो निर्माण गरेर तीन हयास ट्याग #rumalaibatera, #timromerosath, #RameshMKPoudel प्रयोग गरेर भिडियो अपलोड गर्नुपर्ने हुन्छ । यसमा विजयी सहभागीले नगद रू.पच्चीस हजार र प्रिमियरको तीन वटा टिकेट प्राप्त गर्नेछन् ।
अन्तिम नतिजा पुस २६ गते घोषणा गरिनेछ। फिल्मको सार्वजनिक हुने अन्य गीतमा समेत यही नियम क्रमशः लागु हुनेछ। ‘रूमालै बाटेर टाई बनाम’ बोलको गीत सुभाष भुसालको संगीतमा तयार भएको हो भने शब्द वि पाण्डेले लेखेका हुन्। गीतमा मेलिना राई र जगदिश समालको युगल स्वर रहेको छ। फिल्ममा पुष्प खड्का, साम्राज्ञी आरएल शाह, सन्दिप क्षेत्री, इमिली लामा, सरोज खनाल, दिपिशा केसी, खड्क बहादुर पुन(खबपु) लगायतको अभिनय रहेको छ।
सबिर श्रेष्ठ तथा बाबुराम निरौलाको संयूक्त लेखन रहेको फिल्म मार्फत रमेश एमके पौडेल निर्देशकको रुपमा डेब्यु गर्दैछन् । उनी निर्माताको रुपमा परिचित छन् । आर्यन फिल्मस् र बोधी एचडिको ब्यानरमा निर्माण भएको फिल्ममा पासाङ लामा निर्माता, निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल तथा सुधिर पराजुली सह-निर्माताका रूपमा रहेका छन्। फिल्ममा निर्देशक सविर श्रेष्ठ कार्यकारी निर्माता छन्।










