फिल्म । ग्लोबल आइकन प्रियंका चोपडाको आगामी फिल्म ‘द ब्लफ’ रिलिजका लागि तयार भएको छ । सन् २०२४ मै छायांकन सम्पन्न गरिएको यस फिल्मबाट दुई वर्षपछि प्रियंकाको पहिलो लुक सार्वजनिक गरिएको हो, जुन सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ ।
लामो समयदेखि प्रतीक्षामा रहेको ‘द ब्लफ’मा प्रियंका चोपडा दमदार एक्सन अवतारमा देखिनेछिन् । सार्वजनिक गरिएका फोटोमा उनी तलवारबाजी गर्दै, भारतीय पहिरनमा टाउकोमा दुपट्टा ओढेको तथा रगतले लथपथ गम्भीर अवतारमा प्रस्तुत भएकी देखिन्छिन् । यी दृश्यहरूले दर्शक र प्रशंसकमाझ फिल्मप्रति उत्सुकता अझ बढाएको छ ।
रुसो ब्रदर्सद्वारा निर्माण गरिएको ‘द ब्लफ’को निर्देशन फ्र्याङ्क ई. फ्लावर्सले गरेका हुन् । प्रियंका चोपडा स्वयं पनि फिल्मकी सह निर्माता हुन् । ‘द ब्लफ’ सिनेमाघरमा नभई सिधै ओटीटी प्लेटफर्ममार्फत रिलिज हुने भएको छ । फिल्म अमेजन प्राइम भिडियोमा आगामी फेब्रुअरी २५ मा सार्वजनिक गरिनेछ ।
‘द ब्लफ’सँगै प्रियंका चोपडा निर्देशक एस.एस. राजामौलीको आगामी फिल्म ‘वाराणसी’ मा पनि अभिनय गरिरहेकी छन् । सो फिल्ममा पनि उनी एक्सन अवतारमै देखिने बताइएको छ ।










