‘झिँगेदाउ २’को छायांकन ६३ दिनमा सम्पन्न

फिल्म । निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘झिँगेदाउ २’को छायांकन ६३ दिनमा सम्पन्न भएको छ । बुधबार चितवनमा अन्तिम दृश्य खिच्दै फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्माण टिमले जानकारी दिएको हो ।

निर्देशक देउजाका अनुसार ६० दिनको सेड्युलमा गत मंसिरमा सुरु भएको छायांकन निर्धारित समयभन्दा तीन दिन बढी लागेको छ । पहिलो भागको सफलतालाई निरन्तरता दिन र दोस्रो भागलाई अझ उत्कृष्ट बनाउन कुनै सम्झौता नगरी छायांकन गरिएको निर्देशक देउजाले बताए । उनका अनुसार दर्शकले राम्रो फिल्म हेर्न पाउने विश्वास निर्माण टिमको छ ।

फिल्म अर्को वर्षको दशैंमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ भने केही दिनमै पोस्ट–प्रोडक्सनको काम सुरु गरिने जनाइएको छ । काभ्रेको पनौतिबाट छायांकन सुरु गरिएको फिल्मको छायांकन काठमाडौं, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ र पालुङलगायत स्थानमा गरिएको हो ।

कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण भइरहेको फिल्ममा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल बिष्ट, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, हिउँवाला गौतम, विजय देउजा, आशा भुषाल, अभय राज बराल, आशिष पुरुषलगायत कलाकारको अभिनय रहनेछ ।

निर्देशक ज्ञानेन्द्र देउजाको कथा रहेको फिल्मको पटकथा परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन् । फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत र मित्र डी. गुरुङको सम्पादन रहनेछ । इश्वर घिमिरे प्रोडक्सन म्यानेजर तथा चन्द्र भण्डारी मुख्य सहायक निर्देशक रहेका छन् भने पासाङ टी. शेर्पा र मानिक पाख्रिन कला निर्देशक रहेका छन् ।

बिष्णु घिमिरे ‘कल्पित’को छायांकन रहने फिल्मका निर्माता सुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन् ।

कमेन्ट गर्नुहोस्