फिल्म । फिल्म ‘महाराजधिराज’का मुख्य कलाकार पुष्प खड्काको ‘सिक्स प्याक’ बडीसहितको नयाँ तस्बिर सार्वजनिक भएको छ । फिल्मका प्रस्तुतकर्ता विराज विष्टले सामाजिक सञ्जालमार्फत पुष्पको नयाँ अवतार सार्वजनिक गरेका हुन्।
विराजले ‘महाराजधिराज’का लागि पुष्पले कठोर मेहनत गरेर शरीर बनाएको उल्लेख गरेका छन् । उनले पुष्पको त्याग, तपस्या र संघर्षको प्रशंसा गर्दै कलाकारमा हुनुपर्ने गुणका रूपमा यी पक्षलाई व्याख्या गरेका छन् । विराजले फिल्म प्रदर्शनपछि पुष्पले नेपाली फिल्म क्षेत्रमा लामो समयसम्म पछि फर्केर हेर्न नपर्ने दाबीसमेत गरेका छन् ।
यसअघि ‘महाराजधिराज’मा अनुबन्ध हुने कागजी सम्झौता गर्दा पुष्पले हात काटेर रगतको औँठाछाप लगाएको विषय पनि चर्चामा आएको थियो। त्यसयता फिल्मका लागि उनले गरिरहेको मेहनत र शारीरिक परिवर्तनले थप चर्चा पाएको छ।
‘महाराजधिराज’को हाल काठमाडौंका विभिन्न स्थानमा छायांकन भइरहेको छ। सुनसरीको श्रीलंका टापुबाट सुरु भएको फिल्मको छायांकन अहिले काठमाडौंमा भइरहेको हो। भक्तपुरमा समेत फिल्मको छायांकन गरिएको छ। फिल्मको छायांकन तालिका ७० दिनको रहेको निर्माण पक्षले जनाएको छ।
परिच्छेद सेनको निर्देशनमा तयार भइरहेको फिल्मलाई नबराज थापाले छायांकन गरिरहेका छन्। निर्देशक सेनका अनुसार ‘महाराजधिराज’ सोसल पिरियड ड्रामा विधामा निर्माण भइरहेको छ।
फिल्ममा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, सुशील सिटौला, पूजना प्रधान, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डीसी र गजित विष्टलगायत कलाकारको अभिनय रहनेछ।
त्यस्तै, हिउँवाला गौतम, प्रिया रिजाल, नीर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, मोनिका बुढाथोकी, कविता पुरी, सृष्टि खड्का, कुलदीप अधिकारी र कमल देवकोटाको पनि फिल्ममा अभिनय रहनेछ।
फिल्ममा कमल गाउँले, शिशिर भण्डारी, शिवु पाण्डे, हेमन्त बुढाथोकी, प्रलिन्शा कोइराला, अन्जु रसाइली, सनम श्रेष्ठ, सुजेन थापा, आयुष्मा गिरी, रामहरि खड्का, सुवर्ण दुलाल, अनिता गिरी, पारस बस्ताकोटी, कुलबहादुर ओली, सपना घिसिङ, पूजा बुढालगायत कलाकारको पनि अभिनय रहनेछ। फिल्ममा करिब ८० जना कलाकारको अभिनय रहने बताइएको छ।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको ‘महाराजधिराज’को लेखन पनि निर्देशक सेनकै रहेको छ। फिल्मका निर्माता रवि खड्का र टोपेन्द्र विष्ट हुन्।










