फिल्म । रणवीर सिंह अभिनित भारतीय फिल्म ‘धुरन्धर’ ले भारतीय बक्सअफिसमा उल्लेखनीय सफलता हासिल गरेको छ । फिल्मले प्रदर्शनको चौथो हप्ताको शुक्रबार १६ करोड ७० लाख रुपैयाँ (भारु) को व्यापार गर्दै सबैलाई चकित बनाएको छ । भारतमा प्रदर्शनको तेस्रो र चौथो हप्ताको यसरी व्यापार गर्ने फिल्म ‘धुरन्धर’ लगभग पहिलो हो ।
लामो समयपछि कुनै हिन्दी भाषाको फिल्मले यति प्रभावशाली व्यापार गर्न सफल भएको छ । प्रदर्शनको सुरुआतदेखि नै दर्शकको बलियो उपस्थितिका कारण फिल्मले उच्च कमाइ कायम राखेको देखिन्छ । फिल्म ‘धुरन्धर’ ले विश्वव्यापी बक्स अफिसमा तहल्का मच्चाएको छ । फिल्मले आज भारतमा मात्र ७ सय करोड रुपैयाँ पार गर्ने भारतीय मिडियाले जनाएका छन् ।
फिल्मका कलाकार र गीतहरू निरन्तर चर्चामा छन् । विशेषगरी, ‘रहमान डकैत’ को भूमिका निर्वाह गरिरहेका अक्षय खन्ना को ‘हुक स्टेप’ दर्शकहरूमाझ निकै भाइरल भइरहेको छ । फिल्ममा रणवीरसँगै अक्षय खन्ना, संजय दत्त, अर्जुन रामपाल लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मलाई आदित्य धरले निर्देशन तथा निर्माण गरेका हुन् ।
एक्सन र ड्रामाले भरिएको कथावस्तु, लोकप्रिय कलाकारहरूको अभिनय र प्रचारप्रसारले फिल्मप्रति दर्शकको चासो बढाएको विश्लेषण गरिएको छ । बलियो ओपनिङसँगै ‘धुरन्धर’ ले आगामी दिनमा पनि नेपाली बक्सअफिसमा मजबुत पकड बनाइराख्ने अपेक्षा गरिएको छ ।











