‘परान’को पहिलो गीत ‘ओइ भन्दानी बोलेन’ सार्वजनिक

फिल्म । नेपाली फिल्म ‘परान’को पहिलो गीत ‘ओइ भन्दानी बोलेन’ आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । दसैंको अवसर पारेर रिलिज गरिएको यो नृत्यप्रधान र रमाइलो गीत विवाहको परिवेशमा आधारित छ । गीतको भिडियोमा फिल्मका अधिकांश शीर्ष कलाकारलाई एकसाथ देख्न सकिन्छ । मदनकृष्ण श्रेष्ठ, नीर शाह, पूजा चन्द, महेश त्रिपाठी, केकी अधिकारी, प्रविण खतिवडा, अञ्जना बराइलीलगायतले नृत्य र अभिनयमार्फत दर्शकको मन जित्ने प्रयास गरेका छन् ।

गीतमा प्रमोद खरेल, यमन श्रेष्ठ, रिदम कंडेल, रचना रिमाल र सलिना बि.कको स्वरले थप आकर्षण थपेको छ । दीपकप्रसाद आचार्य र अनिश अधिकारीको शब्द रचना रहेको गीतको संगीत संयोजन रिदम कंडेलले गरेका छन् भने कोरियोग्राफी सुनिल क्षेत्रीको छ । गीत रिलिज कार्यक्रममा निर्माता, निर्देशक र कलाकारहरूले दर्शकले यो गीतलाई रुचाउने विश्वास व्यक्त गरे ।

दीपकप्रसाद आचार्यको निर्देशनमा बनेको ‘परान’ कात्तिक १४ गतेदेखि देशभरका हलमा प्रदर्शन हुनेछ । ‘सासले होइन, साथले चल्ने’ ट्यागलाइन रहेको यो पूर्ण पारिवारिक फिल्मले एकअर्काको साथको महत्वलाई उजागर गर्ने अनुमान गरिएको छ । शिवराम श्रेष्ठको छायांकन र मित्र डी. गुरुङको सम्पादन रहेको ‘परान’ फिल्मको कथा दीपक आचार्यको हो भने पटकथा र संवाद यम थापाले लेखेका छन् ।

कमेन्ट गर्नुहोस्