‘कथाले आकर्षित गरेको फिल्म हो लन्डन टु पेरिस’ : साम्राज्ञी

फिल्म । डेब्यु फिल्म ‘ड्रिम्स’ बाट एकाएक चर्चामा आएकी अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । बोल्ड र ब्युटीफुल अभिनेत्रीको रुपमा छवि बनाएकी साम्राज्ञी सोचमा उदार पनि छिन् । तर, उनको चर्चा धेरै समय टिकेन । फिल्म भन्दा पनि उनको व्यक्तिगत चर्चा, प्रेम र उदारताकै कुरा भए । उनको अभिनयमा निखारता आएन, उनले प्रयाश नगरेको आरोप पनि लाग्यो ।

यद्यपि आगामी जेठ २५ गतदेखि प्रदर्शन हुने फिल्म ‘लण्डन टु पेरिस’ मा उनी प्रवासी नेपालीको भूमिकामा छिन् । उनको पात्रलाई उनको लवज र हाउभाउँले साथ दिएको छ । रोमान्टिक फिल्मबाट चिनिएकी उनी यसपटक सोही जनरामा नयाँ कलाकारसँग आउदैछिन् । उनको को-एक्टर निश्चल खड्का डेब्यु ब्वाई हुने भने अर्का कलाकार कविर खड्का छन् । यसै फिल्ममार्फत गरिमा शर्मा पनि डेब्यु गर्दैछिन् । अर्थात् फिल्ममा चिनिएकी र स्टार मानिने कलाकार साम्राज्ञी नै हुन् ।

उनले यो फिल्म पूर्णत लभस्टोरी रहेको बताइन । ‘अहिलेको आधुनिक पुस्तामा भेटिनु र छुटिनु सामान्य भईसकेको छ । तर, एउटा आफूलाई बुझ्ने ‘सोलमेट’ को खोजि उत्तिकै हुन्छ । जसलाई भेट्न र चिन्न हामी आतुर हुन्छौं । यो ‘सोलमेट’सामु पुग्न गर्ने संघर्षको कथा हो’, साम्राज्ञीले भनिन् । उनले यो फिल्म दुई वर्ष अगाडि नै साइन गरेको जानकारी दिईन् । उनलाई फिल्मको कन्सेप्टले आकर्षित गरेको थियो । किनकि यो प्रेमकथालाई उनले आफ्नै पुस्तामा देखेकी थिईन ।

‘मलाई थाहा छ, यो राम्रो फिल्म हो । तर करिअरमा के अर्थ राख्छ भनेर मैले त्यसरी सोचेको छैन । तर, यो हाम्रो पुस्ताले देख्दै र भोग्दै आएको प्रेम कथा हो’, उनले भनिन् ।

घनश्याम लामिछानेको निर्देशनमा तयार भएको फिल्मले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । यसको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । फिल्ममा साम्राज्ञी, निश्चल र गरिमासँगै कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाले यही फिल्ममार्फत डेब्यू गरेका हुन् ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । यसमा अमित बस्नेत, आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेकाछन् । सनिश खकुरेल र अजित केआर थापा सह–निर्माता रहेको फिल्ममा अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी कार्यकारी निर्माता हुन् । फिल्म जेष्ठ २५ गतेबाट रिलिज हुँदैछ ।

यसमा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले फिल्मलाई नेपालभर वितरण गर्नेछन् ।

कमेन्ट गर्नुहोस्