अमेरिकामा भव्य रिलिज हुँदै ‘डिग्री माइला’

फिल्म । ‘कबड्डी’ शृङ्खलामार्फत नेपाली फिल्मको अन्तर्राष्ट्रियबजार विस्तार र प्रवर्द्धन गर्न सघाउने निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईको सहकार्यमा तयार भएको फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’ नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुने भएको छ । चैत ३० मा फिल्मलाई अन्तर्राष्ट्रिय वितरण अधिकार प्राप्त गरेको वितरण कम्पनि सेभेन सिज र यसका साँझेदार वितरक कम्पनिले प्रदर्शन गर्नेछ ।

नेपालीहरूको नयाँ वर्ष विसं २०८१ लाई लक्षित गर्दै संयुक्तराज्य अमेरिकामा टिकेट उपलब्ध भईसकेको फिल्म ‘डिग्री माइला’ को अप्रिल ११ देखि मुख्य सहरहरू लस एन्जलस, डलास, ओहायो, पेन्सिलभेनिया र न्यूयोर्कमा हुने प्रिमियरमा अभिनेता बुद्धी तामाङ (हैट) ले सहभागिता जनाउनेछन् । उनले दर्शकलाई भेटघाट गर्दै फिल्म बारे प्रतिक्रिया लिनेछन् ।

उल्लेखित सहरसँगै सान फ्रान्सिस्को, शिकागो, बोस्टन लगायतका सहरमा समेत टिकेट बिक्रीका लागि खुल्ला गरिएको सेभेन सिजले जानकारी दिएको छ । उक्त कम्पनिका अनुसार डलासमा ४३ शो, लास एञ्जल्समा २२ शो, ओहायो राज्यमा ४० शो पहिलो हप्तामा उपलब्ध छ । अप्रिल १९ देखि सिनेमार्क र एप्पल अन्तर्गतका चेनहरू र अप्रिल २६ देखि डेनभर र एरिजोनामा समेत दर्शकले फिल्म हेर्न पाउनेछन् बताईएको छ ।

स्थानीय वितरक प्रतिक सुवेदीले ‘डिग्री माइला’ प्रति दर्शकको उत्साह र पर्खाइलाई बुझेर अप्रिलदेखि मे महिनाको पहिलो सातासम्ममा सात सय बढी शोहरू राखेको जानकारी दिए । उनले भने,‘अमेरिकाका विभिन्न सहरमा चार हप्तामा चालिस हजारदेखि साठ्ठी हजार दर्शकले फिल्म हेर्ने अपेक्षा गरेर सोही अनुसार तयारीका साथ शो आयोजना गरेका छौँ । ‘

फिल्म ‘डिग्री माइला’ को शो समय र हलको विषयमा अमेरिकामा वितरण गरिरहेको कम्पनिको वेबसाइट www.nepal11.com जानकारी लिन सकिने वितरक सुवेदीले बताए ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको फिल्ममा दयाहाङसँगै आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय रहेको छ । ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको फिल्मका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ तथा कार्यकारी निर्माता क्रिश लामा हुन् ।

कमेन्ट गर्नुहोस्