फिल्म । हाल प्रदर्शनरत नेपाली फिल्म ‘ऊनको स्वीटर’ले राम्रो व्यापार गरिरहेको छ । यसैबीच, यसमा समावेश नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ आइतबार सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा कलाकार एलेक्स पारस र परीक्षा लिम्बुको आकर्षक अभिनय र नृत्य देख्न सकिन्छ । निर्देशक नवीन चौहानका अनुसार, दर्शकहरुको विशेष मागलाई ध्यानमा राख्दै यो गीत सार्वजनिक गरिएको हो । उनले सुरुवाती दर्शकलाई ‘सरप्राइज’ दिनका लागि गीतलाई प्रदर्शनको केही दिनपछि रिलिज गर्ने योजना रहेको बताए । आर्टमाण्डूका अनुसार, यो गीत नेपाली सदाबहार जोडी दिलीप रायमाझी र निरुता सिंहप्रति समर्पित गरिएको छ ।
गीत सार्वजनिक गर्दै आर्टमाण्डूले ‘चाइनेजो जिन्दगानीमा’ गीत मार्फत नेपाली फिल्मको स्वर्ण युगप्रतिको हार्दिक श्रद्धा अनि सम्मान व्यक्त गर्न चाहेको जनाएको छ । सुजन चापागाईँद्वारा सङ्गीत एवम् स्वरबद्ध यो गीत सम्माननीय दिलीप रायमाझी र निरुता सिंहलाई समर्पित गरिएको छ, जसले त्यो युगको नोस्टाल्जिया र रोमान्सलाई समेट्छ ।
सुजन चापागाईँ र सलिना बिकको सुमधुर स्वर रहेको गीतमा सङ्गीत पनि चापागाईँले नै दिएका छन् । हर्क साउदको शब्द रचना रहेको गीतको कोरियोग्राफी रोशन बिकले गरेका हुन् भने एरेन्ज कुशल सिंह र विकेश बज्रले गरेका छन् ।
गत शुक्रबारबाट प्रदर्शनमा आएको ‘ऊनको स्वीटर’ले हलमा दर्शकको उल्लेख्य साथ पाइरहेको छ । प्रदर्शनको तेस्रो दिन आइतबारसम्म पनि दर्शकको उत्साहमा कमी आएको छैन । सोमबार सार्वजनिक बिदा परेकाले चलचित्रको व्यापार अझ बढ्ने अपेक्षा निर्माण पक्षले लिएको छ ।
विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, र सुनिल पोखरेल जस्ता कलाकारहरुको अभिनय रहेको ‘ऊनको स्वीटर’का ट्रेलर, टिजर र यसअघि सार्वजनिक गीतहरुले दर्शकको मन जितिसकेका छन् ।