फिल्म । अन्तत: फिल्म ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ को नाम परिवर्तन भएको छ । हिन्दु धर्मसँग सम्बन्धित केही व्यक्ति तथा संस्थाले नाममा चासो देखाएपछि विवादमा फस्न नचाहेकाले निर्माण पक्षले नयाँ नाम ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ तय गरेको छ ।
भदौ ६ गते रिलिज हुने यस फिल्मको नाम परिवर्तन गर्दै निर्माणपक्षले मुख्य पात्रको क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा मुख्य पात्र विजय बराल छन् । रातो सटमा दुईवटा झोला बोकेर घरबाट निस्किन लागेको जस्तो देखिन्छ । आमाले रातो टीका लगाइदिएर घरबाट निस्किने बेलामा आर्शिवाद दिएको जस्तो देखिएको छ । पोस्टरको कलरले बिहानको समय रहेको संकेत गरेको छ ।
उनको निन्यनउरो अनुहारले घरपरिवार र आफन्तसँग छुट्नुपर्दाको पीडा देखाउँछ । पोस्टरले गाउँको व्यक्तिले गाउँ छोडेर सहर पुगेर गरेको संघर्ष बताउने संकेत गरेको छ ।
निर्देशक हिमाल न्यौपानेले ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ले आमा र छोराबीचको भावनात्मक कथा भन्ने बुझिएको छ । फिल्ममा अभिनेता विजय बरालसँगै अभिनेत्री केकी अधिका, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली र भोलाराज सापकोटाको मुख्य भूमिका छ । चलचित्रमा रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लागायतको पनि अभिनय रहेको छ ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह-निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, नारायण तिमिसिना र चुडामणि सिवाकोटी रहेका छन् । थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको फिल्ममा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।
यसको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् ।











