फिल्म । नेपाली फिल्म ‘कल्ली’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरले मानिसभित्र रहने देवता र राक्षसको द्वन्द्वलाई केन्द्रमा राखेको छ ।किरण नेपालीको निर्माणमा बनेको यो फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । सुनारकै कथामा आधारित फिल्मको पटकथा महेश दवाडीले लेखेका छन् । टिजरमार्फत फिल्मले फरक विषयवस्तु उठान गर्ने संकेत गरेको छ ।
फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुलबहादुर अधिकारी, सरस्वती खत्री र श्याम मगरको मुख्य भूमिका रहेको छ । बाल कलाकारका रूपमा उपेश ढकाल, मञ्जिला बाँनिया र समर्पण खतिवडा देखिएका छन् । टिजरको अन्त्यमा अभिनेत्री परिक्षा लिम्बु देखिएकी छिन्, जसलाई निर्माण पक्षले ‘सरप्राइज प्याकेज’का रूपमा प्रस्तुत गरेको छ ।
निसाल पौडेलको छायांकन रहेको फिल्मको सम्पादन मिलन श्रेष्ठले गरेका छन् । फिल्ममा आशिष अविरल, सरित राई र केतन क्षेत्रीको संगीत, एनबी महर्जनको एक्सन निर्देशन तथा सुरज आचार्यको निर्माण व्यवस्थापन रहेको छ ।
‘कल्ली’ले मानिसको मनभित्र रहेको देवता र राक्षसको कथालाई रूपकका रूपमा प्रस्तुत गर्छ । देवताले परिश्रम, मिहिनेत र इमानदारीको प्रतिनिधित्व गर्ने र राक्षसले लोभ, लालच र मोहको भाव बोकेको देखाइएको छ । मानिसले आफ्नो अन्तरआत्माको देवतालाई दबाएर राक्षसलाई बलियो बनाउँदा उत्पन्न हुने परिस्थितिलाई फिल्मले कथानकका रूपमा अघि सारेको छ । लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘कल्ली’ फागुन १ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा छ ।










