कुल ब्वाइ ‘होस्टेल ३’मा अनुबन्धित

फिल्म । नेपाली चलचित्र ‘होस्टेल ३’मा ‘कुल ब्वाइ’को नामबाट चर्चित पारस बम अनुबन्धित भएका छन् । टिकटकर हुँदै इन्टरनेटमा ‘भिडियो कन्टेन्ट कृयटर’को रूपमा चर्चित बमलाई चलचित्रको महत्त्वपूर्ण भूमिका र प्रमुख पात्रहरू मध्ये एकको लागि लिइएको निर्देशक सशान कँडेलले बताए । होस्टेलमा बसेर अध्ययन गरिरहेका ‘टिनेजर्स’ र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहेर बन्न लागेको यस चलचित्रबाट डेब्यु गर्न लागेका पारस गायक समेत हुन् । उनका ‘कान्छी कता हिँडेको’, ‘बुवाको नाक होस’ लगायतका गीतहरू चर्चित छन् ।

जुन पात्र चलचित्रको स्क्रिप्टले ‘डिमान्ड’ गरेको छ त्यो पात्रमा कुल ब्वाइ सबै पक्षबाट उत्तम रहेको कारण अनुबन्ध गरिएको निर्देशक कँडेलले बताए । उनले यस चलचित्रबाट पनि अघिल्ला भागहरूमा जस्तै कुल ब्वाइ सहितका अन्य केही स्टार कलाकारको जन्म हुने जनाए ।

‘होस्टेल ३’को लागि माधव शर्माले स्क्रिप्ट लेखेका छन्। यसको कथा भने निर्देशक कँडेलले नै लेखेका हुन्। यसअघि बनेका ‘होस्टेल’ र ‘होस्टेल रिटर्न्स’लाई सुनिल रावलले बनाएका थिए भने ‘होस्टेल ३’लाई भने सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा बनाउँदै छ। यसका निर्माताहरू शिशिर ज्ञवाली, कार्यकारी निर्माता शङ्कर कोइराला, सह निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा हुन्।

वि.सं. २०७० सालमा रिलिज भएको ‘होस्टेल’ र २०७२ मा रिलिज भएको ‘होस्टेल रिटर्न्स’ घरेलु बक्स अफिसमा सफल भएका थिए। ‘होस्टेल ३’का निर्देशक कँडेलले तेस्रो भागमा होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनेजर र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहने बताएका छन्।

यस वर्षको अन्त्यतिर ‘होस्टेल ३’को रिलिज लक्ष्य राखी काम अघि बढेको निर्देशकले बताएका छन्।

कमेन्ट गर्नुहोस्