फिल्म । चैत्र २२ गते शुक्रबारबाट प्रदर्शन हुने फिल्म ‘वसन्त’को अग्रीम टिकट बुकिङ र बिक्री खुला गरिएको छ । यसलाई मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले यो सिनेमालाई उच्च शो दिने देखिएको छ । देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले सिनेमाको ३ दिन अगावै अग्रीम टिकट बुकिङ खुला गर्दै काठमाडौं उपत्यकामा मात्रै ३३ शो दिएको छ । हामीले यो समाचार तयार पार्दासम्म मोफसलमा इटहरी बाहेकका हलमा वसन्तलाई क्युएफएक्सले ३८ शोसहित देशभर ७१ शो उपलब्ध गराएको छ ।
प्रकाश सपुतको डेव्यु निर्देशकिय फिल्म ‘वसन्त’लाई आइएनआइ सिनेमाजले लोत्से मल, एनबी सेन्टर, क्युबक्स बुटवल र सिमरा बिजनेस सेन्टरको हलमा गरी १६ सो दिएको छ। वान सिनेमाजले आइप्लेक्स र कालीमाटी ट्रेड सेन्टरमा १० सो दिएको छ। त्यस्तै एफक्युबले ५ शो, बिग मुभिजले ५ शो, बिएसआर सिनेमाजले ४ शो दिएको छ।
फिल्म रिलिज हुने समय एक दिन बाँकी रहेको हुँदा बिहीबार साँझसम्म पनि शोहरु थपिने क्रम जारी रहनेछ । यस फिल्मले शुक्रबार ४ सय हाराहारी शोसहित प्रदर्शनमा आउने सम्भावना रहेको छ ।
नेपाल र विदेशमा एक साथ रिलिज हुने फिल्म ‘वसन्त’मा प्रकास सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ । यसका साथै केही परिचित अनुहारले यसका केमियो गरेका छन् । अर्थात् दर्शकले आफूले मन पराएका केही कलाकारलाई फिल्ममा देख्न पाउनेछन् ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा फिल्ममा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा फिल्मले भन्ने छ । फिल्मको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।










