विश्वभर आक्रामक ‘महाजात्रा’ : दश करोड ग्रस कलेक्सन

फिल्म । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । देशभरका एकसय भन्दा बढी हलमा प्रदर्शनरत फिल्मले एक सातामा ६ करोड २४ लाखको ग्रस कलेक्शनसहित विश्वभर दश करोडको ग्रस कलेक्सन गरेको छ । निर्माणपक्षले उपलब्ध गराएको आँकडामा नेपाल झैँ विदेशमा पनि दर्शकको उस्तै प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपको आधारमा फिल्मलाई दर्शकले रुचाएका छन् ।

पहिलो साता अष्ट्रेलिया, युरोपका विभिन्न देशमा आयोजित शोहरू ‘सोल्ड आउट’ भएका छन् भने संयुक्त राज्य अमेरिका र बेलायतमा नियमति बक्सअफिसमै प्रदर्शन भइरहेको छ । अन्तर्राष्ट्रिय वितरण कम्पनि एमएसएम इन्टरटेनमेन्ट्सका अनुसार आयोजित शो ‘सोल्ड आउट’ हुनु र दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’ पाउनुले फिल्म दोस्रो सातामा पनि नियमति प्रदर्शनमा छ ।

फिल्मलाई प्राप्तले शोले ‘महाजात्रा’ को दोस्रो सातामा पनि नेपालसँगै विश्वभर आक्रामक व्यापार गरिरहेको छ । यसका साथै नेपालकै ठूलो सिनेमा हलको चेन क्युएफएक्सले ‘महाजात्रा’ लाई ‘सुपरहिट’ ट्याग दिएको छ । पहिलोपटक उक्त हलले नेपाली फिल्मलाई यसरी आफ्नो वेबसाइटमार्फत ‘सुपरहिट’ घोषणा गरेको हो ।

चैत ९ गतेदेखि प्रदर्शनरत फिल्ममा फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बीचको मित्रतालाई देखाईएको छ । फिल्मले पहिलो सातामा पाएको दर्शकले दोस्रो साताका लागि प्रचार गरिदिनुभएको निर्देशक तथा लेखक प्रदीप भट्टराईले बताए ।

तीन पात्रले जीविकोपार्जनका लागि गर्ने सङ्घर्ष, विभिन्न अवरोधमा टिकेको मित्रता र उनीहरूको गरिवीले डगमगाउन नसकेको नैतिकतालाई प्रस्तुत गरिएको फिल्मलाई पहिलो सातामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह लगायतका विशिष्ट व्यक्तिले हेरिसकेका छन् ।

आपतकालीन रुपमा पैसा व्यवस्थापन गर्न आइपर्ने अवसर र त्यसको क्रममा तीन पात्रले गर्ने सङ्घर्ष देखाईएको फिल्ममा वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्मलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

कमेन्ट गर्नुहोस्