फिल्म । अभिनेता राजेश हमालले आफुले गरेको डेब्यु फिल्म ‘युग देखि युगसम्म’ पछि फिल्मनगरीमा सानो तिनो क्रान्ति नै भएको बताए । उनले गत फागुन १ देखि ५ सम्म राजधानीमा चलेको नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा आत्म कथा सुनाउदै यस्तो बताएका हुन् । यो फिल्म गर्दासम्म पनि उनलाई फिल्म यात्रा कस्तो हुन्छ? भन्नेमा अन्योलता थियो । त्यस अगाडी मुस्किल केहि फिल्म बन्थे । त्यसैले उनि विश्वस्त थिएनन् । उनलाई यो क्षेत्रलाई अंगाल्दा के हुन्छ भन्ने लागिरहेकै थियो । तर , पनि हमालले फिल्ममा काम गरे ।
यद्दपी उनले फिल्म ‘भाग्यरेखा’ को छायांकन पाँच–दश प्रतिशत मात्र सकिएपछि छोड्नु परेको थियो । ‘निर्माता–निर्देशकले मलाई त्यो फिल्म छाड्न बाध्य पार्नुभयो । मेरो एक्टिङमा उहाँहरू विश्वस्त हुनुभएन’ हमालले पहिलो फिल्ममा नै पाएको झट्कालाइ सम्झिदै भने , ‘हामीले तपाईंलाई लिन त लियौं तर तपाईं यो फिल्मबाट हट्नुपर्यो’ भन्नुभयो । म हटेँ। यसरी मलाई पहिलो गाँसमै ढुंगा लाग्यो। तर, उमेरको कारणले हो कि आत्मविश्वास भएर हो, हतोत्साहित भइनँ । मैले त्यसलाई कसरी लिएँ भने ‘ममा सीप नभएर उहाँहरूले यस्तो भन्नुभएको होइन, उहाँहरूको दृष्टिकोणमा समस्या थियो । म आफूलाई सक्षम नै ठान्छु ।’
उनले आफु फिल्मनगरीमा आउने बेलासम्म मुश्किलले १०-१२ वटा फिल्म बनेका बताए । ‘मेरो पहिलो फिल्म प्रदर्शन भएपछि त्यसले नेपाली फिल्म क्षेत्रमा सानोतिनो क्रान्ति ल्यायो। क्रान्ति यस मानेमा कि मैले पहिलो फिल्म गर्दा दोस्रो कहाँबाट आउँछ भन्दाभन्दै त्यो फिल्म रिलिज भएपछि त्यसलाई जसरी दर्शकले स्विकारे, त्यसको एक डेढ वर्षपछि म १२-१४ घण्टा नेपाली फिल्ममा काम गर्ने भइसकेको थिएँ। लगत्तै, म एकसाथ दुई-तीन वटा फिल्ममा काम गर्ने भइसकेको थिएँ’ हमालले भने । उनले त्यसलाई ‘मिनी रेभोलुसन’ भन्दै त्यसपछि नेपाली फिल्म निरन्तरताको प्रश्न हराएको बताए । रिलिज भएको एक-डेढ वर्षपछि निरन्तर काम गर्दै त्यो क्रम खालि एक वर्ष, दुई वर्ष मात्र नरहेर १२ वर्षसम्म कम्तीमा दिनमा १४-१५ घण्टा काम गरेको समेत हमालले सम्झीए ।











