अलविदा इरफान

फिल्म । बलिउडमा अभिनेता इरफान खान जीवन्त अभिनय गर्ने कलाकारमा पर्छन् । फिल्म र थियटरका चल्किला तारा इरफानले अभिनयकै कारण दर्शकको मन जित्दै आएका छन् । बलिउड हुँदै हलिउडसम्मको फिल्ममा काम गरेका इरफानले बुधवार विहान संसारबाट विदा लिए । ५४ वर्षको उमेरमा भएको उनको निधनको दु:ख बलिउडसँगै संसारकै कलाप्रेमीलाई छ ।

पछिल्लो समय फिल्म अंग्रेजी मिडियममा देखीएका इरफानले स्वास्थ्यमा आएको समस्याकै कारण प्रमोसन गर्न सकेका थिएनन् । फिल्मको प्रमोसनको समयमा अडियो मार्फत फ्यानलाई सम्बोधन गरेका इरफानको स्वास्थ्य राम्रो नरहेको अनुमान धेरैले लगाई सकेका थिए । वुधवार साँझ नै उनको मुस्लिम परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ । उनको अन्तिम संस्कारमा परिवारसँगै बलिउडका दुइ निर्देशक तिमांशु धुलिया र विशाल भारद्वाज मात्र सहभागी थिए । कोरोना भाइरस (कोभिड १९) को कारण देशमा गरिएको लकडाउनका कारण २० जनालाई मात्र अन्तिम संस्कारमा सहभागी हुन पाइने भनिएको थियो ।

केहि दिन अगाडी मात्र आमा गुमाएका इरफान स्वयम् पनि आमाको अन्तिम संस्कारमा सहभागी हुन् पाएका थिएनन् । ‘इरफान निकै दुखि थियो आमालाई अन्तिम पटक प्रत्यक्ष भेट्न नपाउँदा । भिडियो कलमा म छिटै आउछु भनेको थियो । तर , आमा कहाँ गयो’ उनका दाई इमरान खानले भने । रंगमंच र फिल्ममा नाम कमाएका इरफानले निकै संघर्ष गरेका थिए ।

पहिलोपटक ‘पान सिंह तोमार’ मार्फत नेशनल अवार्ड जितेका इरफान त्यो फिल्म भन्दा अगाडी टुटीसकेका थिए । आफुलाई काम गर्न मन लागेको कथा नपाउंदा बलिउडमा मसाला फिल्ममा देखिरहेका उनले विश्राम लिने सोच समेत बनाएका थिए । जीविकोपार्जनकै लागि उनि अभिनयलाई मारेर काम गर्ने सोचमा थिएनन् । उनले नजिकका साथीलाई बाँकि समयमा थियटरमा केन्द्रीत हुने समेत बताएका थिए ।

तर , इरफानको मेहनतलाई नजिकबाट नियालीरहेका साथी तिमांशु धुलियाले उनलाई अन्तिम समयमा ‘पान सिंह तोमार’ अफर गरे । फिल्मको स्क्रिप्ट नै सुनाउने समयमा निर्देशक तिमांशुले इरफानलाई भनेका थिए ,’कहाँ घर जाने कुरा गर्छौ । आउँ , पहिला नेशनल अवार्ड जित्ने फिल्म गर ।’ त्यसपछि कथाले इरफानको मन छोयो र उनले फिल्म गरे । फलत त्यो फिल्मले उनको अभिनय क्षमतालाई अझै चिनायो । त्यसपछि उनले आफुले चाहे अनुसारको फिल्म गर्दै बलिउडमा अगाडी बढे ।

आफुले पाएको भूमिकालाई जीवन्त बनाउने खुबी भएकै कारण इरफान बलिउडकर्मी माँझ प्रिय थिए । तर , उनको बलिउड यात्रा सहज थिएन । न उनि स्टारकिड थिए , न त उनि ह्याण्डसम हंक नै । तर , उनमा अभिनय गर्ने क्षमता थियो । जसबाट उनि विश्वका फिल्मकर्मी माँझ चिनीए । जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटरहुँदै फिल्ममा आएका थिए ।

इरफानले सलाम बम्बे, मक्बुल, पानसिंङ तोमार, द लन्च बक्स, पिकु, तलबार, हिन्दी मिडियमजस्ता चर्चित सिनेमामा अभिनय गरेका छन् । बलिउड मात्र होइन, उनले स्लमडग मिलिनियर्स, जुरासिक वर्ल्ड, द अमेजिङ स्पाइडर म्यान र लाइफ अफ पाईजस्ता हलिउड फिल्ममा समेत काम गरेका थिए। आफ्नो स्थापित क्यारेक्टरमा नरमाउने उनको विशेषता थियो । उनि हरेक क्यारेक्टरमा नयाँ पन ल्याउन उत्तिकै मेहनत गर्थे । पहिलो पटक हलिउड फिल्म गर्ने बेलामा पनि उनले भनेका थिए ,’यो अहिलेसम्म गरेको छैन । हेरौँ , कस्तो हुन्छ ?’ (एजेन्सी सहयोगमा)

कमेन्ट गर्नुहोस्