फिल्म । अशोक शर्मा पुराना फिल्मकर्मी हुन् । निर्माता , निर्देशक र कालाकारसंगै वितरकको पहिचान समेत स्थापित गरेका अशोक गत वर्ष ‘जय भोले’ मार्फत फिल्म निर्माण तथा निर्देशनमा फर्किए । उनि यतिबेला फिल्म ‘रातो टिका निधारमा’ को प्रदर्शनको तयारीमा जुटिरहेका छन् । फिल्मको पहिलो गीत सार्वजनिक गरिसकेका अशोकले फिल्म असोज १० बाट प्रदर्शनमा आउने घोषणा गरिसकेका छन् ।
यस फिल्मबाट उनको छोरा अंकित शर्माले अभिनेताको रुपमा डेब्यु गर्दैछन् । उनले यसअघि अशोकलाई ‘जय भोले’ मा सहायक निर्देशक भएर सघाएका थिए । त्यसपछि उनले अभिनेताको रुपमा आफुलाई अगाडी ल्याउन मेहनत पनि गरेका छन् । ‘अंकितले निकै मेहनत गरेको छ र उसले डेब्यु फिल्ममा गर्नु पर्ने काम गरेको छ जस्तो लाग्छ’ अशोकले भने । अंकितले आफुलाई प्रमाणित गर्ने अवसरको रुपमा यसलाई लिएका छन् । ‘म लक्की छु किनकी मैले चान्स पाए तर भोलि फिल्म रिलिज भएपछी मेरो करियरको डिसिजन दर्शकमै भर पर्छ’ अंकितले भने ।

उनले आफुले पाएको मौकालाई सक्दो सदुपयोग गरेको समेत जनाए । ‘मेरो बुवाको कारण मैले एक पटक मौका पाए तर घरिघरि मैले मौका पाउदिन त्यसैले सक्दो मेहनत गरेको छु’ अंकित आशावादी सुनिए । उनि फिल्म सम्बन्धि अध्यन गरेर मलेसियाबाट फर्किएका हुन् । अशोकले पनि अंकितमा सम्भावना देखेर नै डेब्यु गराएको बताए । ‘मेरो छोराछोरीले नै फिल्म सम्बन्धि अध्यन गरेका छन् तर मैले नेपालमै स्कोप हेर भनेर फर्केको हुँ’ अशोक भन्छन् ‘म आज जे छु यहि क्षेत्रको कारण छु त्यसैले मेरो सन्ततिले पनि यहि केहि गरूँन भन्ने छ ।’
उनले छोराछोरीलाई अझै राम्रो गर्न समेत सुझाए । उनको छोरी कृति शर्माले पनि अमेरिकाबाट फिल्म सम्बन्धि अध्यन गरेर फर्किएकी हुन् । फिल्ममा अंकितसंगै साम्राज्ञी राज्यलक्ष्मी शाह ,नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको फिल्ममा अभिनय रहेकोछ । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका छन् । यसमा कल्याणसंगै शम्भुजित बाँस्कोटाको पनि संगीत , बसन्त श्रेष्ठको कोरियोग्राफी, मित्र देव गुरुङको सम्पादन रहेको छ ।











