इमेज अवार्डमा प्रदीप , विपिन र स्वस्तिमा सर्वोत्कृष्ट

फिल्म । राजधानीमा सम्पन्न इमेज अवार्डको २१ औ संस्करणबाट थपिएको फिल्मको विधा तर्फ अभिनेतामा विपिन कार्की फिल्म ‘गोपी’ बाट उत्कृष्ट बनेका छन् । उनिसँगै निर्देशक तर्फ ‘जात्रै जात्रा’ बाट प्रदीप भट्टराई , अभिनेत्री तर्फ बुलबुलबाट स्वस्तिमा खड्का सर्वोत्कृष्ट हुँदै अवार्ड विजेता बनेका हुन् । यसैगरी सर्वोत्कृष्ट फिल्म पनि जात्रै जात्रा नै घोषित भयो । यस वर्षकै गत जेठको पहिलो साता प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ लाई समिक्षक र दर्शकले उत्तिकै रुचाएका थिए ।

इमेज च्यानलले विगत दुई दशकअघिबाट निरन्तररुपमा आयोजना गर्दै आएको नेपाली सांगीतिक जगतको अवार्डको २१औं संस्करणबाट नेपाली फिल्मका केहि विधा थपिएका हुन् । नेपाली गीत, संगीत क्षेत्रमा उत्कृष्ट स्रस्टालाई सम्मान गरिने यो अवार्ड गत शनिबार काठमाडौंको होटल सोल्टीमा सम्पन्न भएको हो । आयोजित समारोहमा ‘इमेज लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट वरिष्ठ पपगायक, संगीतकार एवं रचनाकार ओमविक्रम विष्टलाई सम्मान गरियो ।

हाल उपचारकाक्रममा अमेरिकामा रहेका विष्टको अवार्ड उनका सुपुत्र र दिदीले ग्रहण गरे । अमेरिकाबाट भिडियो सन्देश पठाउँदै वरिष्ठ गायक विष्टले अवार्डले आफूलाई खुसी तुल्याएको बताएका थिए । आयोजित अवार्डमा २२ विधामा स्रस्टाहरुलाई पुरस्कार प्रदान गरिएको छ ।

यस वर्षको सर्वोत्कृष्ट गायन पुरुषको अवार्ड ‘बाबाको टोपी’का गायक महेश सेवाले प्राप्त गरे भने ‘अब छाडेर जाने’ गीतकी गायिका अन्जु पन्तले सर्वोत्कृष्ट गायन महिलाको अवार्ड प्राप्त गरिन् । महेश काफ्ले र मेलिना राईको गीत ‘नाच फिरिरी’ वर्षको सर्वोत्कृष्ट गीत घोषित भयो । त्यसैगरी, वानिका प्रधानले ‘मायाको रंग’ गीतबाट सर्वोत्कष्ट गायन पप महिलाको अवार्ड हात पारिन् ।

‘गल्ती’ बोलको गीतमार्फत् विक्रम बराललाई सर्वोत्कृष्ट गायन पप पुरुषको अवार्ड प्रदान गरियो ।त्यसैगरी, आशिष सचिन र मेलिना राईको ‘पिरिम नलाउनी’ बोलको गीतले टुबोर्ग ‘पब्लिक चोइस’को अवार्ड हात पार्‍यो । सर्वोत्कृष्ट गायन लोकगीततर्फको अवार्ड ‘खुर्सानी डल्ले’ गीतका गायक भीषण मुकारुङलाई प्रदान गरियो ।

‘गलबन्दी…’ गीतका प्रकाश सपुत र शान्ती श्री परियारले सर्वोत्कृष्ट गायन दोहोरीगीततर्फको अवार्ड पाउन सफल भए । सर्वोत्कृष्ट दोहोरीगीतको अवार्ड कुलेन्द्र विकको स्वरमा रहेको ‘सालको पात’लाई प्रदान गरियो । यस्तै, उत्कृष्ट गीत रचनातर्फको अवार्ड ‘तिम्रो हाल…’ गीतका रचनाकार वीरेन्द्र पाठकलाई प्रदान गरियो ।

सर्वोत्कृष्ट समूह वा युगल गायन अवार्ड ‘जलिरहे रातमा…’ बोलको गीतका लागि स्वरुपराज आचार्य र वानिका प्रधानलाई प्रदान गरियो । त्यसैगरी, रेडबुल सर्वोत्कृष्ट नवकलाकार अवार्ड ‘दिल खोलेर…’ बोलको गीतका गायक तारा तिवारी र सर्वोत्कृष्ट संगीततर्फको अवार्ड ‘यो मन…’ गीतका संगीतकार त्रिशला गुरुङ र रोहित शाक्यले प्राप्त गर्न सफल भए ।

सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशकमा ‘लुकिछिपी’ गीतका नविन चौहान घोषित भए । त्यसैगरी, सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकारतर्फ ‘जाउँ हिँड…’ गीतका हरि हुमागाईं र सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादकको अवार्ड ‘आँखाका जोर’ गीतका लोकेश ब्रजाचार्यले प्राप्त गर्न सफल भए । यस्तै, सर्वोत्कृष्ट म्यूजिक भिडियो विधामा आर्टमान्डु नेपालको गीत ‘लुकिछिपी’ सफल भयो ।

सर्वोत्कृष्ट फिल्म गीततर्फको अवार्ड ‘दाल, भात तरकारी’को ‘भिजिट भिसा’ बोलको गीतले प्राप्त गर्‍यो । त्यसैगरी, फिल्म ‘बुलबुल’बाट स्वस्तिमा खड्का उत्कृष्ट अभिनेत्री घोषित भइन् भने उत्कृष्ट अभिनेताको अवार्ड ‘गोपी’बाट विपिन कार्कीले प्राप्त गरे । ‘जात्रै जात्रा’ फिल्मका निर्देशक प्रदीप भट्टराईलाई सर्वोत्कृष्ट फिल्म निर्देशकको अवार्ड प्रदान गरियो भने जात्रै जात्रा नै सर्वोत्कृष्ट फिल्म बन्न सफल भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै इमेज ग्रुप अफ कम्पनीज्का अध्यक्ष आर.के मानन्धरले दर्शक, स्रोता र विशिष्ट व्यक्तित्वको सहयोग र विश्वासका कारण नै आफूहरु इमेज अवार्डको २१औं संस्करणसम्म आइपुग्न सफल भएको बताए । समारोहलाई लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराई , विवेक खतिवडा लगायतले संचालन गरेका थिए ।

तस्वीरहरु : आर्यन बिमली

कमेन्ट गर्नुहोस्