फिल्म । पछिल्लो समय फिल्ममा नयाँ पुस्ताको प्रवेश उत्तिकै छ । किनकी डिमाण्ड पनि उत्तिकै छ । प्राय निर्माता तथा निर्देशक आफ्नो फिल्ममा नयाँ कलाकारलाई कास्ट गर्ने सोचमा हुन्छन् तर सोचे जस्तो अनुहार कमै उदय हुन्छन् । तर आउँदो चैत्र १ गतेबाट प्रदर्शनमा आउने फिल्म जानी नजानीबाट भने सम्भावना बोकेकी निरिषा बस्नेतको उदय हुँदैछ ।
कलाकार तथा निर्देशक विश्व बस्नेतकी छोरी निरिषाले नेपाली फिल्म अगावै भारतीय सिरियल ‘चन्द्रनन्दिनी’ मा टाइटल रोल निर्वाह गरिसकेकी छिन । मुम्बईमा बसेर संघर्ष गरिरहेकी निरिषा जानी नजानीमा भने मीराको भूमिकामा छिन् । ‘मेरो भूमिकाले प्रेरित गर्छ भने दायित्व बोध पनि गराउँछ’ निरिषा भन्छिन् ‘फिल्मले लभ स्टोरीसँगै फ्यामिली ड्रामा पनि बोकेको छ ।’
घाटामा गएको पुख्र्यौली ढाका उद्योगलाई एउटा युवा जोश र जाँगरले कसरी पुर्नस्थापित गराउन सक्छ ? भन्ने मुल कथा यो फिल्मले पस्केको छ । फिल्ममा निरिषाको जोडी बनेकाछन् , मनिष श्रेष्ठ । फिल्मका हिसाबले उनको यो तेस्रो हो । ‘रानी’ फिल्मबाट डेब्यु गरेका मनिषले त्यसपछी ‘तिमि हुन्छौ जहाँ जहाँ’ मा काम गरिसकेका छन् । तर मनिषले निकै तारिफ बटुलीरहेका छन् , जानी नजानीबाट ।
‘मलाइ राम्रो फिडब्याक प्राप्त भइरहेको छ’ मनिष भन्छन् ‘बल्ल ट्रयाकमा आएको भान हुँदैछ , फिल्मले करियरलाई अगाडी बढाउनेमा ढुक्क छु ।’ मनिष र निरिषाको जोडीको चर्चा पनि बढ्दो छ । अनस्क्रिन केमेष्ट्री सुहाएको प्रतिक्रिया यी दुइलाई नै प्राप्त भइरहेको छ । यी दुइलाई ‘मनि’ जोडी समेत भन्न थालिएको छ । मनिषको म र निरिषाको नि मिलाएर मनि जोडी बनेका छन् । ‘हामीलाई मनि जोडी भन्दा खुसि नै लाग्छ’ निरिषा भन्छिन् ‘डेब्यु फिल्ममै पाएको मायाको आभारी छु ।’ मनिष पनि कामले चिनिदा र जोडी बन्दा खुसि नै लाग्ने बताउछन् ।
‘हाम्रो केमेष्ट्री सुहाएको छ त्यसैले जोडीको चर्चा हुन् थालेको छ’ उनि भन्छन् ‘मनि जोडीकै रुपमा अर्को फिल्म पनि सँगै खेल्ने ईच्छा छ ।’ फिल्ममा मनिष र निरिषासँगै सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसी लगाएतले अभिनय गरेका छन् । रोशनी केसी प्रस्तुतकर्ता रहेको फिल्म ‘जानी नजानी’ मा मोदनाथ खनाल र सागर काजि माली निर्माता रहेका छन् । फिल्मलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन् । सामिप्यराज तिमल्सेनाको लेखन रहेको फिल्मलाई सञ्जय लामाले खिचेका हुन् । फिल्म रोशनी इन्टरटेनमेन्ट्सको ब्यानरमा बनेको हो ।












