‘कमला मिस’को धमाधम छायांकन

फिल्म । फागुन १ गते शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा बनेको फिल्म ‘कमला मिस’ को छायांकन यतिबेला राजधानीमा तीव्र गतिमा भइरहेको छ । ‘कमला मिस’ मार्फत निर शाह एक दशकपछि निर्देशनमा पुनः फर्किएका हुन् ।

ललितपुरको इमाडोलस्थित न्यु मिलेनियम स्कुल परिसरमा विजय मल्ल स्मृति प्रतिष्ठान, मल्ल परिवार र फिल्म युनिटले नाटेश्वरीको पूजा गरी फिल्मको सफलताको कामना गरेका छन् । छायांकन अघि पूजा सम्पन्न गर्दै सफल र बाधारहित निर्माण प्रक्रियाको कामना गरिएको हो । नेपाली संस्कृतिमा विशेषगरी फिल्म, नाटक वा सांस्कृतिक कार्यक्रम सुरु गर्नुअघि सफलता र समृद्धिको कामना गर्दै पूजा गर्ने परम्परा रहिआएको छ ।

मनोवैज्ञानिक विषयवस्तुमा आधारित फिल्म ‘कमला मिस’मा बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी र रमेश बुढाथोकी मुख्य भूमिकामा देखिनेछन्।

फिल्म विजय मल्ल स्मृति प्रतिष्ठानको प्रस्तुतिमा निर्माण भइरहेको छ। कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान रहेका छन् भने लाइन प्रोड्युसर पुष्कर लामा (प्रेम भोम्जन) हुन् । छायांकन शिवराम श्रेष्ठ, संगीत युग भुसाल, कोरियोग्राफी रामजी लामिछाने, निर्माण व्यवस्थापन भोला सुबेदी तथा मुख्य सहायक निर्देशक सगर बोहराले सम्हाल्नेछन्। पटकथा तथा संवाद निर शाह, प्रजाल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार गरेका हुन्।

निर शाह नेपाली फिल्म क्षेत्रमा लामो समयदेखि अभिनय, फिल्म निर्माण र निर्देशनमा सक्रिय रहँदै आएका छन्। उनले यसअघि ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’ जस्ता सफल फिल्म निर्देशन गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्