फिल्म । दोस्रो सातामा प्रदर्शनरत फिल्म ‘ऊनको स्वीटर’ ले यतिबेला स्वदेशी तथा विदेशी बजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै चर्चा र प्रशंसा बटुलिरहेको छ । लेखक तथा निर्देशक नवीन चौहानको निर्देशनमा बनेको यो फिल्मले घरेलु बजारमा रिलिजको पहिलो सातामै ५ करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षको दाबी छ ।
‘ऊनको स्वीटर’को यो न्यानोपन नेपालमा मात्र सीमित नरही विश्वका विभिन्न कुनामा फैलिएको छ। संयुक्त राज्य अमेरिकाका ३० भन्दा बढी सहरहरूमा एकैसाथ प्रदर्शन भइरहेको यो फिल्मले न्युयोर्क, क्यालिफोर्निया, टेक्सस, वासिङ्टन, ओहायो, फ्लोरिडा लगायतका राज्यहरूमा बसोबास गर्ने नेपाली दर्शकहरूलाई आफ्नो नजिकैको हलमा फिल्म हेर्ने अवसर प्रदान गरेको छ । अमेरिकाभरि नै टिकटको अग्रिम बुकिङ र हलहरूमा देखिएको दर्शकको भीडले क्रेज स्पष्ट पारेको छ।
त्यसैगरी, अस्ट्रेलियामा पनि ‘ऊनको स्वीटर’ले पहिलो दिनदेखि नै हाउसफुल शोहरू पाइरहेको वितरकहरूले जानकारी दिएका छन् । सिड्नी, मेलबर्न, ब्रिसबेन जस्ता प्रमुख सहरहरूमा नेपाली दर्शकको उल्लेख्य उपस्थिति रहेको छ ।
फिल्मको अन्तर्राष्ट्रिय यात्रा यतिमै सीमित छैन । जापानका योकोहामा, ओकिनावा, क्युसु, फुकुओका, कुमामोटो, कुरुमे, कोबे, गिफु, नागोया, ओसाका, टोकियो, चिबा र नरिता जस्ता सहरहरूमा पनि ‘ऊनको स्वीटर’ सफलतापूर्वक प्रदर्शन भइरहेको छ । नेपाली समुदायको बाक्लो उपस्थिति रहेका यी सहरहरूबाट फिल्मले सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
दक्षिण कोरियामा पनि मे ११ देखि जुन १ सम्मका लागि सियोल, किम्हे, सुवोन, मोक्तो, किम्पो, फुयो, जिन्छान, ओन्याङ ओन्छान र फाजु जस्ता सहरहरूमा शोहरू तय भएका छन् । त्यहाँ रहेका नेपाली विद्यार्थी र कामदारहरूले फिल्मलाई उत्साहजनक साथ दिइरहेका छन् ।
युरोपेली मुलुकहरू डेनमार्क, पोर्चुगल, बेल्जियम, साइप्रस र माल्टामा मे १८ देखि अर्थात् आजदेखि प्रदर्शन भएको छ। यसका साथै क्यानडामा पनि शोहरू सुरु गर्ने तयारी भइरहेको छ । मध्यपूर्वका देशहरू संयुक्त अरब इमिरेट्स, कतार, बहराइन र ओमनमा पनि फिल्मले सफल प्रदर्शन गरिरहेको छ भने हङकङ, सिङ्गापुर र युनाइटेड किङडममा पनि प्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ ।
‘ऊनको स्वीटर’मा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ । जीवन्त संवाद, यथार्थपरक प्रस्तुति र निर्देशक नवीन चौहानको कुशल निर्देशनले फिल्मलाई सबै वर्गका दर्शकले रुचाएका छन् ।
यसका गीतसंगीतले पनि दर्शकको मन जितेका छन् । ‘चाइनेजो जिन्दगानीमा’ बोलको गीत युट्युब र टिकटकमा भाइरल भइरहेको छ भने ‘फूल’, ‘मखमली’ र ‘काफ्ले’ जस्ता गीतहरूले करोडौँ भ्युज पाइसकेका छन् ।
प्रदर्शनको दोस्रो हप्तामा पनि चलचित्रले करिब २ सय शोहरूमा आफ्नो प्रदर्शन जारी राखेको छ, जसले दर्शकको चासो अझै नघटेको देखाउँछ ।प्रचारप्रसारलाई थप व्यापक बनाउन शुक्रवारदेखि देशव्यापी कलाकार परिचय तथा प्रचार भ्रमण सुरु गरिएको छ । यो भ्रमण दमौली र पोखराबाट सुरु भई चितवन, बुटवल, दाङ, नेपालगन्ज, धनगढी, दमक, धरान, विराटनगर र इटहरीसम्म पुग्नेछ ।










