‘ऊनको स्वीटर’को दमदार सुरुवात

फिल्म । शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको नेपाली फिल्म ‘ऊनको स्वीटर’ले बक्स अफिसमा आक्रामक सुरुवात गरेको छ । रिलिजको पहिलो दिनदेखि नै दर्शकको उत्साहजनक उपस्थिति पाएको फिल्म दोस्रो दिन शनिबार पनि अधिकांश शोमा हाउसफुल व्यापार गरेको वितरकले जनाएका छन् । पहिलो दिन काठमाडौं उपत्यकादेखि पूर्व–पश्चिमका मल्टिप्लेक्स तथा सिंगल स्क्रिन हलहरूसम्म दर्शकको उल्लेख्य साथ पाएको थियो । शुक्रबार बिहानैदेखि राति अबेरसम्म अधिकांश शोहरू हाउसफुल रहेको र दर्शकको चाप लोभलाग्दो रहेको वितरकले जानकारी दिए । पहिलो दिनको उत्साहजनक व्यापारपछि देशभरका धेरै हलहरूले शनिबारका लागि शो संख्यासमेत बढाएका थिए, र शनिबार बिहानैदेखि ती शोहरु पनि हाउसफुल रहेका छन् ।

यसका कलाकारहरूले पनि शुक्रबार उपत्यकाका विभिन्न हलहरूमा पुगेर दर्शकसँग साक्षात्कार गर्दै प्रतिक्रिया लिएका थिए । दर्शकबाट पाएको अत्यन्त सकारात्मक प्रतिक्रियाले उत्साहित निर्माण पक्षले शुक्रबार र शनिबारको कूल व्यापारिक आँकडा एकमुष्ट सार्वजनिक गर्ने तयारी गरेको छ ।

नवीन चौहानद्वारा निर्देशित ‘ऊनको स्वीटर’ले नेपाली समाज, संस्कृति र प्रेमकथालाई पर्दामा उतारेको बताइएको छ । फिल्मा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्