फिल्म । क्याप्टेन रामेश्वर थापाद्वारा लिखित अंग्रेजी पुस्तक ‘इन्टु द फायर’ मा आधारित रहेर फिल्म ‘क्याप्टेन साब’ बन्ने भएको छ । आज यहाँ काठमाडौँको गौरीघाटमा आयोजित समारोहमा फिल्मको शुभमुहूर्त गर्दै यसको निर्माण घोषणा गरिएको हो ।
निर्देशक दीपेन्द्र के. खनालले पाइलट, व्यवसायी तथा सञ्चारउद्यमी क्याप्टेन थापाको जीवनमा आधारित रहेर फिल्म जानकारी दिए । ‘क्याप्टेन साब’ फरक शैलीको फिल्म रहेको निर्देशक खनालले बताए । उनले भने,‘क्याप्टेन थापाको जीवनका उतारचढावलाई सिनेम्याटिक स्वतन्त्रतासहित मनोरञ्जनात्मक ढंगले प्रस्तुत गर्नेछौं । आकाशमा भोग्ने चुनौती, स्थानीय सम्मान र व्यवसायमा जोडिने विविध पात्रहरूलाई समेटेर यो फिल्म रोचक बन्ने विश्वास छ ।
पटकथा प्रोडक्सनको दोस्रो प्रस्तुती रहेको उक्त फिल्ममा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, सञ्जोग रसाइली लगायतका कलाकारले अभिनय गर्नेछन् । आगामी साउनको पहिलो सातादेखि फिल्मको छायांकन काठमाडौँ, चितवन र काभ्रेमा लगायतका स्थानमा हुने छायाँकार कृष्णबाहादुर थापाले जानकारी दिए ।
यार्सा स्टुडियोस् र रिच इन्टरटेन्मेन्टको सहकार्यमा बन्ने फिल्मका निर्माता निर्देशक खनालसँगै, वितरक करण श्रेष्ठ र निर्देशक खनालकी छोरी श्रृष्टिमा खनाल छन् । कार्यकारी निर्माता सिर्जना नापित छिन् ।










