एजे क्रिउ उत्कृष्ट

संगीत । गायिका टिका प्रसाईले आफ्नो चर्चित गीत ‘माया लुकीलुकी’को प्रबद्र्धनका लागि आयोजना गरेको ‘कभर डान्स भिडियो प्रतियोगिता’मा झापाको एजे क्रिउ उत्कृष्ट भएको छ । प्रतियोगितामा सहभागी २० प्रतिष्पर्धीलाई पछि पार्दै क्रिउले ५० हजार रुपैंयाँ पुरस्कार हात पारेको छ । गायिका प्रसाईको आयोजना तथा ओसेनिया एजुकेसन सोलुसनको प्रस्तुतिमा राजधानीमा शनिवार आयोजित एक कार्यक्रममा ६ सदस्यीय एजे क्रिउलाई गायिका प्रसाईले नगदसहित पुरस्कृत गरेकी हुन् । गायिका प्रसाईंका अनुसार गत साउन १ गतेदेखि असोज ३१ गतेसम्मको समयसीमा तोकेर प्रतियोगिताको आव्हान गरिएको थियो ।

‘प्रतियोगितामा सहभागिताका लागि धेरै भिडियो आएको थियो । तर हामीले बनाएको नियम र दायरामा रहेर निर्णायकले २१ वटा भिडियो छनौंट गरेका थिए’, टिकाले भनिन्, ‘यसपटक पनि अघिल्लो पटक जस्तै उत्साहजनक सहभागिता पायौं ।’ उनले ओरिजिनल भिडियोमा अभिनय गर्ने कार्टुन्ज क्रुका कलाकारलाई पनि धन्यवाद दिइन् । कार्यक्रममा गीतका गीतकार आनन्द अधिकारी, संगीतकार आशिष अबिरल, ओसेनियाकी प्रतिनिधि शिला श्रेष्ठ र निर्णायक महेश गोदारलाई पनि सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा साढे चार करोड बढीपटक गीत हेरिएको खुशियालीमा केक पनि काटिएको थियो ।

कमेन्ट गर्नुहोस्