‘गौँथली’को अग्रिम टिकट बुकिङ खुला

फिल्म । यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘गौँथली’ को अग्रिम टिकट बुकिङ खुला भएको छ । प्रदर्शन मिति नजिकिँदै जाँदा राजधानी तथा मोफसलका अधिकांश मल्टिप्लेक्सले मंगलबारदेखि नै शो सार्वजनिक गर्दै बुकिङ खुला गरेका हुन् । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले शुक्रबारका लागि शो सार्वजनिक गरेको छ । दोस्रो ठूलो मल्टिप्लेक्स चेन आइएनआई, वान सिनेमाजलगायतका हलले पनि फिल्मको अग्रिम टिकट बुकिङ खुला गरेका छन् ।

वितरक करण श्रेष्ठका अनुसार देशभरका अधिकांश हलले बुकिङ खुला गरिसकेका छन् भने शो थपिने क्रम जारी छ । उनले बिहिबार बेलुकीसम्म देशभरबाट फिल्मले २०० भन्दा बढी शो प्राप्त गर्ने दाबी गरेका छन्। उनले भने, ‘शो खुल्ने क्रममै छ। अहिले नै यति शो भन्ने अवस्था छैन। तर भोलिसम्ममा देशभरबाट २०० भन्दा बढी शो आउने अपेक्षा गरेका छौं।’

प्रिमियर प्रदर्शनमा सकारात्मक प्रतिक्रिया पाएपछि निर्माण टोली फिल्मले राम्रो व्यापार गर्नेमा विश्वस्त देखिएको छ। प्रिमियरमा सहभागी दर्शकले फिल्मको विषयवस्तु, कलाकारको अभिनय र प्रस्तुतिको प्रशंसा गरेका थिए, जसको सकारात्मक प्रभाव प्रदर्शनमा पनि पर्ने निर्माण टोलीको विश्वास छ।

डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन्। सुमन गिरी र डा. कपिल रिजाल निर्माता रहेका छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सहनिर्माताका रूपमा आबद्ध छन्।

डा. भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद निर्देशक डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा लेखेका हुन्। फिल्ममा हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन तथा गिरिराज घिमिरेको मुख्य सहायक निर्देशन रहेको छ। फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले गर्नेछन् भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।

कमेन्ट गर्नुहोस्