फिल्म । निर्देशक एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार भएको फिल्म ‘चमेलीको पोई’को प्रदर्शन मिति तय भएको छ । आज फिल्मका तीनवटा पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले रिलिज मिति चैत १३, २०८२ (रामनवमी) को घोषणा गरेको छ ।
यो फिल्ममा सुरक्षा पन्त, मुकुन भुसाल, नारायण त्रिपाठी, विल्सन विक्रम राई, रविन्द्र झालगायतका कलाकारहरूको अभिनय छ । धन लक्ष्मी सिने मेकर्सको ब्यानरमा बनेको यो फिल्ममा सुनिता सापकोटा र राम नारायण उपाध्यायको लगानी छ । उदय बिक्रम राणा र रितु मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् ।
फिल्मको फस्टलुक पोस्टरमा नायक मुकुन भुसाल र नायिका सुरक्षा पन्तलाई मुख्य रूपमा प्रस्तुत गरिएको छ । सुरक्षाले चमेलीको भूमिका निर्वाह गरेकी छन् भने मुकुन उनको श्रीमानको चरित्रमा देखिनेछन् ।
पोस्टरहरूले फिल्म कमेडी जनरामा बनेको संकेत गर्छन् । फिल्ममा शिवम् अधिकारीको पटकथा र संवाद, शेर बहादुर तामाङको छायांकन, बन्दे शाह र सुजन वडालको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी र कुमार महर्जनको एक्सन छ ।
यो फिल्मबाट हास्य कलाकार नारायण त्रिपाठीले फिल्मी क्षेत्रमा पुनरागमन गर्दैछन् । निर्देशक बोहरा, जो ‘भैरे’, ‘श्री’ र ‘हेलो जिन्दगी’ जस्ता फिल्मका लागि चर्चित छन्, यो फिल्ममार्फत दर्शकलाई हाँसो र मनोरञ्जनको नयाँ अनुभव दिने तयारीमा छन् ।












