फिल्म । नेपाल पत्रकार महासङ्घको एशोसियट संस्थाको रूपमा रहेको चलचित्र पत्रकार सङ्घ नेपालले आउँदो जेठ ७ गते स्थापना दिवस मनाउदैछ । २०५६ साल जेठ ७ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भइ स्थापना भएको सङ्घको मोफसलमा रहेको दश शाखाले समेत स्थापना दिवसमा विधागत पत्रकारिता गरिरहेका पत्रकारलाई प्रतोत्सहन गर्न सम्मान तथा पुरस्कार प्रदान गर्ने गरेकाछन् । सोही क्रममा आउँदो जेठ ७ गते हुने कार्यक्रममा चलचित्र पत्रकार सङ्घ नेपालको मकवानपुर शाखाले सम्मान तथा पुरस्कार घोषणा गरेको छ ।
शनिवार साँझ सङ्घका शाखा अध्यक्ष कपिल खड्काको अध्यक्षतामा बसेको वैठकले ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८०’ राजन घिमिरे, ‘चलचित्र पत्रकारिता पुरस्कार २०८०’ बाट शाखाका संस्थापक अध्यक्ष पोष्टराज अधिकारी र ‘राष्ट्रिय चलचित्रकर्मी सम्मान २०८०’ बाट सुलेमान शंकर ‘ईकु’ लाई सम्मान गर्ने निर्णय गरेको छ ।
सङ्घको केन्द्रीय कार्यालय स्थापनामा विशेष योगदान पु¥याउनु भएका पत्रकार घिमिरेले संस्थापक सदस्य र पछि कोषाध्यक्षको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँलाई नगद राशी दश हजारसहित सम्मान गरिने शाखा अध्यक्ष खड्काले जानकारी दिनुभयो । “हामीले राष्ट्रिय पत्रकारितामा योगदान दिएका, स्थानीय विधागत पत्रकारितामा लगनशील र मकवानपुरबाट राष्ट्रियस्तरमा कलाकारितामार्फत चिनिनुभएकालाई सम्मानित तथा पुरस्कृत गर्ने गरेका छौं । मोफसलमा रहेर विधागत पत्रकारिता आफैँमा चुनौतीपूर्ण छ”,अध्यक्ष खड्काले भन्नुभयो ।
आफ्नो निरन्तरतालाई प्रोत्साहन मिल्ने गरी प्रदान गर्न लगिएको सम्मानले दायित्व बोध भएको पत्रकार घिमिरेले बताउनुभयो । “सङ्घ स्थापना गर्दा सहज थिएन । सिमित स्रोत, साधनकै आधारमा केही सदस्य मिलेर स्थापना गरेको सङ्घ आज मोफसलमा रहेर चलचित्र पत्रकारिता गर्नेलाई समेटेर कार्यक्रम गरिरहेको छ । यसले संस्थाकालाई दिने खुशी शब्दमा व्यक्त गर्न सकिदैन्”,पत्रकार घिमिरेले भन्नुभयो ।
यस्तै अर्का पत्रकार अधिकारीलाई नगद पाँच हजार रुपैयासहित पुरस्कृत गरिने शाखा अध्यक्ष खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार जेठ ७ गते एक कार्यक्रमको आयोजना गर्दै सम्मान तथा पुरस्कार प्रदान गरिनेछ ।










