फिल्म । आज राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली फिल्म ‘परस्त्री’ को ट्रेलर सार्वजानिक गरिएको छ । सार्वजनिक ट्रेलरमा अभिनेत्री शिल्पा मास्के बोल्ड देखिएकी छिन् । यसअगाडी ‘ब्रेकअप’ नामक फिल्ममा ‘बोल्ड’ रुपमा प्रस्तुती भएकी शिल्पा यसपटक झनै अगाडी बढेकी छिन् । ट्रेलर सार्वजनिक भएसँगै उनले विभिन्न प्रतिक्रिया पाइरहेकी छिन् ।
ट्रेलर सार्वजानिक कार्यक्रममा उनले मिडियामा देखिने हेडलाइन देखि सामाजिक सञ्जालमा पाउने प्रतिक्रियासम्मको लागि तयार भएको फिल्ममा चरित्र निर्वाह गरेको बताइन । ‘त्यहाँ देखिएकी शिल्पा नभई चरित्र हुन् । यो समाजकै कथा हो । यसले मनोरञ्जनसँगै त्यो अवस्थालाई चित्रण पनि गरेको छ’, शिल्पाले भनिन्,’यसमा म पूर्ण रुपमा फरक छु । यो भूमिका बुझेर नै निर्वाह गरेकी हुँ ।’
इरोटिक थ्रिलर फिल्मको ट्रेलरमा माया, यौन, धोका र अपराधको कथालाई केन्द्रमा राखिएको छ । शिल्पा रेडियोमा कार्यक्रम चलाउँछिन् । उनलाई श्रीमान् कोशिश क्षेत्रीले सधैं शंका गर्छन् । एक दिन जिमखानामा उनको भेट गौरव विष्टसँग हुन्छ । विस्तारै उनीहरु एकअर्कासँग नजिक हुन्छन् । त्यसपछि दुवैको जीवनमा आउने उतारचढाव र अपराधलाई फिल्ममा देखाईएको छ ।
यसका लेखक दीपेन्द्र के खनालले समाजमा भईरहेको घटनाक्रमलाई नै ठूलो पर्दामा ल्याउन लागिएको बताए । ‘यस किसिमका खबरहरु हामीले पढिरहेका छौँ । के कसरी ? त्यस्तो परिस्थिती आउँछ भन्ने कोसिस पनि गरेका छौं’, उनले भने ।
नेपालीसँगै हिन्दी भाषामा भारतका हलमा समेत प्रदर्शन हुन लागेको यसै फिल्ममार्फत अभिनेता सुरज पाण्डेले निर्देशनमा डेब्यु गर्दैछन् । फिल्ममा एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतको पनि अभिनय छ ।
यसमा निरज कँडेलको छायांकन निर्देशन र दीर्घ खड्काको सम्पादन रहेको छ । डीएस डिजिटलको ब्यानरमा निर्माण भएको सिनेमामा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन् । फिल्मलाई काठमाडौँमा करण श्रेष्ठ (जीजीए ग्रुप) र मोफसलमा अशोक शर्मा (डिसीएन) ले वितरण गर्दैछ ।










