देशभर तीव्र प्रचारप्रसारमा ‘हली’

फिल्म । यही साउन २२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’ को प्रचारप्रसारलाई देशभर तीव्र बनाइएको छ । निर्माण टिमले उपत्यकाबाहिर पनि प्रचार अभियान विस्तार गर्दै पूर्वदेखि पश्चिमसम्म अटो र ई-रिक्सामार्फत फिल्मको प्रवर्द्धन गरिरहेको छ। निर्माण टिमले यसअघि झापा, मोरङ र सुनसरीलगायत पूर्वी जिल्लामा प्रचार अभियान सञ्चालन गरेको थियो। अहिले दाङ, नेपालगञ्ज र धनगढीमा पनि अटो तथा ई-रिक्सामा ‘हली’को पोस्टर राखेर प्रचारलाई तीव्रता दिइएको छ। सयौँ अटो र ई–रिक्सामा फिल्मका पोस्टर देख्न सकिन्छ।

फिल्मका निर्माता पूजा गुरुङ र जश्मिन श्रेष्ठले दर्शकमाझ फिल्मबारे जानकारी पुर्‍याउने उद्देश्यले प्रचारप्रसारलाई व्यापक बनाइएको बताए। निर्माता पूजा गुरुङले दर्शकलाई हलसम्म आकर्षित गर्न प्रभावकारी प्रचार अपरिहार्य रहेको उल्लेख गर्दै फिल्मलाई सकेसम्म धेरै दर्शकमाझ पुर्‍याउने प्रयास भइरहेको बताइन्।

यसअघि प्रचार अभियानअन्तर्गत काठमाडौंको सिटी सेन्टरस्थित बिग मुभिजमा विशेष शो आयोजना गरिएको थियो। उक्त शोमा सहभागी दर्शक तथा फिल्मकर्मीबाट फिल्मले सकारात्मक प्रतिक्रिया पाएको निर्माण टिमको दाबी छ।

हिट निर्देशक ओम प्रतीकको निर्देशन रहेको फिल्ममा छाउपडी प्रथाका कारण बालिकाले भोग्नुपर्ने सामाजिक पीडा र दुर्व्यवहारलाई मुख्य विषयवस्तु बनाइएको छ। ट्रेलर, पोस्टर र प्रमोशनल गीत सार्वजनिक भएसँगै फिल्मले दर्शकमाझ राम्रो चर्चा बटुलिरहेको छ। सामाजिक तथा राष्ट्रिय परिवर्तनका लागि एक जना ‘हली’ नै पर्याप्त हुन्छ भन्ने सन्देश फिल्मले बोकेको निर्माण टिमको भनाइ छ।

जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्सको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण कर्माचार्य र मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन्। फिल्मको कथा तथा निर्देशन ओम प्रतीककै रहेको छ।

फिल्ममा प्रमोद दीप, सुजाता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडी तथा निर्देशक ओम प्रतीक स्वयंको अभिनय रहेको छ। प्रमोशनल गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माको विशेष नृत्य समावेश छ।

राहुल राईको छायांकन, रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्ममा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ। जश्मिन श्रेष्ठको शब्द, बाबुल गिरीको संगीत तथा बाबुल गिरी र शान्ति श्री परियारको स्वर रहेको गीत फिल्ममा समावेश छ। गीतको कोरियोग्राफी ओम प्रतीक र कविराज गहतराजले गरेका हुन्।

कमेन्ट गर्नुहोस्