फिल्म । अन्तत: अभिनेता राजेश हमालले सहयोगी हात अगाडी बढाएका छन् । कोरोना भाइरसको कारण ठप्प बन्न पुगेको फिल्म क्षेत्रलाई हमालले सहयोग नगरेको भन्दै असन्तुष्टीका आवाज उठ्दै गर्दा उनले केहि दिन अगाडी मात्र सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए । उनले प्रतिवद्धता अनुसारनै कोरोना भाइरसले सिर्जित अवस्थाले समस्यामा परेका १ सय १३ जना प्राविधिकलाई आर्थिक सहयोग गरेका छन् ।
अभिनेता हमालले प्राविधिकहरुलाई जनही ५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका हुन् । नायक हमालले ५ लाख ६५ हजार रुपैयाँ प्राविधिकहरुका लागि सहयोग गरेको संघका पुर्व अध्यक्ष मनोज केसीले बताए । ‘प्राविधिक विना हामी अपुरो छौ र मेरो लागि तपाइँहरु सधै उच्च स्थानमा हुनुहुन्छ । यो सानो सहयोगले तपाइलाई केहि राहत दिने अपेक्षा गरेको छु । साथै , भोलिका दिनमा हातेमालो गर्न तयार छु’ हमालले प्राविधिकलाई सम्बोधन गर्दै भने ।
पुर्व अध्यक्ष केसीले हमाललाई प्राविधिकहरुले धन्यवाद दिएको बताए । ‘हामीले राजेश दाइको धेरै सेवा गरेका छौँ । आज हामीलाई पर्दा उहा अगाडी आउनु भयो , हामी खुसि छौँ’ केसीले भने ।










