अरुणले गरे पशुपतिनाथ दर्शन

टिभी । प्रसिद्ध हिन्दी टेलिभिजन सिरिज ‘रामायण’ मा भगवान रामको भूमिका निभाएपछि चर्चामा आएका भारतीय अभिनेता अरुण गोविलले पशुपतिनाथको दर्शन गरेका छन् । काठमाडौंमा रहेका अभिनेता गोविलले पत्नी श्रीलेखा र केही सहयोगीसहित नेपाल घुमघाम गरिरहेका छन् ।

आइतबार बिहान गोविलले पशुपतिनाथ मन्दिरको दर्शन गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ‘आज मलाई पवित्र धाम भगवान पशुपतिनाथको दर्शन गर्ने सौभाग्य मिल्यो । महादेवको यो दिव्य भूमिमा पुगेर अद्वितीय आध्यात्मिक शान्ति महसुस गरें । हर हर महादेव! भगवान रामको जय होस्’, उनले दर्शनपछि सामाजिक सञ्जालमार्फत लेखेका छन् ।

सन् २०२४ मा सम्पन्न भारतीय लोकसभा निर्वाचनमा उत्तर प्रदेशको मिरुत क्षेत्रबाट निर्वाचित सांसदसमेत रहेका अभिनेता गोविल रामानन्द सागरद्वारा निर्मित ‘रामायण’ टिभी सिरिजमार्फत विश्वव्यापी रूपमा चर्चामा आएका हुन् । उनले फिल्म ‘आर्टिकल ३७०’मा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिका निर्वाह गरेका छन् ।

कमेन्ट गर्नुहोस्