डायस्पोरामा कस्तो चल्दैछ ‘लाज शरणम्’ ?

फिल्म । नेपालमा गत शिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शन सुरू भएको फिल्म ‘लाज शरणम्’ले अन्तर्राष्ट्रिय प्रदर्शन पनि सुरू गरेको छ । फेब्रुअरी २७ देखि मध्यपूर्वका चार देशका ४० सिनेमा घरमा फिल्मको प्रदर्शन भएको सेभेन सिज सिनेमाका प्याट्रिक सुवेदीले जानकारी दिए । उनका अनुसार फेब्रुअरी २८ मा अमेरिका, क्यानडा र अष्ट्रेलियामा प्रदर्शन सुरु गरेको फिल्मले राम्रो शो सङ्ख्या पाएको छ ।

उनले अमेरिका र क्यानाडामा ७७ हल र अस्ट्रेलियाको ३० हलमा प्रदर्शन भएको जनाए । ‘लाज शरणम्लाई प्रदर्शकले राम्रो साथ् दिनुभएको छ । एक किसमले यप ग्राण्ड रिलिज नै हो’, वितरक सुवेदीले भने ।

उनका अनुसार आउँदो मार्च ७ देखि यो फिल्म बेलायतको सिनेवर्ल्ड, भीयूई, शोकेस, सिनेमासमा पनि प्रदर्शन हुँदैछ । उनले फिल्मको कलेक्सन बारे भने बताएका छैनन् । फिल्ममा महेश त्रिपाठी, सिताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन् । ‘लाज शरणम्’लाई कुमार कट्टेलले निर्देशन गरेका हुन्। जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको फिल्ममा राम नरेश शाह र सिर्जना खड्का सह-निर्माता छन् । यसले पहिलो साता नेपालमा तीन करोडको हाराहारीमा ग्रस कलेक्सन गरेको वितरकले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्