खलनायक दिव्य

फिल्म । अभिनेता दिव्य देव पछिल्लो समय निर्माता र निर्देशकको रोजाईको कलाकारमा पर्छन् । फिल्महरुमा सकारात्मक र नकारात्मक दुवै चरित्रमा देखिँदै आएका दिव्य देव यही चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’मा खलनायक चरित्रमा देखिँदैछन् । दिव्य देव ‘पिताम्बर’मा ‘राहुल’को भूमिकामा देखिँदैछन् । ‘मैले यसअघि कमर्सियल किसिमको फिल्म गरेको थिइनँ । यो लेभलको फिल्ममा पहिलोपटक काम गरेको हुँ’, उनी भन्छन्, ‘फिल्ममा मेरो फूल अन भिलेन अर्थात खलनायक चरित्र छ । मेरो लुक्स, पहिरन, तराईको परिवेश अनुसार भ्वाइस छ । म फिल्ममा क्रुर किसिमको छु । यो कथाभित्र म पात्रले जे काम गर्छ, त्यसले मेन प्रोटागोनिस्टको लाइफमा असर पार्छ । कथाको यात्राभित्र छिर्न उसले मुल क्यारेक्टर निभाएको हुन्छ ।’

फिल्मको क्यानभास नवलपरासीको परासी वरपर रहेकाले फिल्ममा रहेका अन्य भिलेन साथीहरुजस्तै आफू पनि एक ठाउँको भिलेन रहेको दिव्यदेव खुलाउँछन् । ‘फिल्ममा मैले जुन चरित्र निभाएको छु, त्यो चरित्र किन यस्तो भयो ? उसले किन यस्तो क्रियाकलाप गर्छ । मैले निर्देशकलाई सोध्दै आफूले पनि सम्झँदै मेरो चरित्रको खाका बनाएको थिएँ । जुन यो फिल्ममा देखाएको छु’, उनी भन्छन् ।

निर्देशक कृषा चौलागाईंको सहयोगले पनि आफूले क्यारेक्टरलाई विकसित गराउन सकेको दिव्य देव दाबी गर्छन् । ‘कृषाले मलाई क्यारेक्टरको बारेमा विस्तृत बताउनुभएको थियो । उहाँलाई केही सोध्दा पनि घुमाउरो खालको उत्तर आएन । त्यसबाट म प्रभावित भएँ । सेटमा गइसकेपछि उहाँको काम गर्ने शैली, नेतृत्व क्षमताले पनि प्रभावित भएँ’, दिव्य देव भन्छन् ।

दर्शकका लागि ‘पिताम्बर’मा देखिएको आफ्नो चरित्र नयाँ लाग्ने उनको दाबी छ । ‘क्यारेक्टर, लुक्स, पहिरन र भिलेन चरित्र दर्शकका लागि फरक छ । दर्शकले दिव्यदेव यस्तो चरित्र पनि गर्दो रहेछ भन्ने अनुभव लिन्छन् । मलाई जतिसक्दो फरक क्यारेक्टर नै गर्न मन लाग्छ’, उनी भन्छन् ।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको फिल्ममा कृषा चौलागाईंको निर्देशन छ । फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ ।

फिल्ममा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)ले समेत अभिनय गरेका छन् ।

विशाल चौलागाईं निर्माता रहेको फिल्ममा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन र ट्रेलर, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ । फिल्म आरआर फिल्मस्ले वितरण गर्दैछ ।

कमेन्ट गर्नुहोस्